सर्लाहीमा अस्पतालका विषयमा विवाद हुँदा झडप, एकको मृत्यु

बरहथवामा कर्फ्यु

स्वास्थ्यसमाचार/सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ। प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको हो।

सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर साह गम्भीर घाइते भएका थिए । टाउकामा गोली लागेका साहको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दियो।

अस्पतालको विषयलाई लिएर स्थानीयहरूले मेयर कल्पना कटुवालको घरमै आजगनी गर्न लागेपछि गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ। प्रदर्शनकारीले गाडीमा समेत आगजनी गरेको बताइएको छ। अवस्था अझै साम्य भइनसकेको प्रहरीले जनाएको छ।

किन भयो विवाद?

बरथहवा नगरपालिका–६ मा १५ बेडको अस्पताल बरथहवा प्राथमिक स्वास्थ्य केन्द्र निर्माणको अन्तिम चरणमा छ । नगरपालिका स्वास्थ्य–सहसंयोजक विष्णु प्रसाद श्रेष्ठका अनुसार अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्ने भन्ने विषयमा विवाद भएको हो ।

श्रेष्ठका अनुुसार नगरपालिकाले निर्माण गरिरहेको उक्त अस्पताललाई ५० बेडमा स्तरोन्ती गरिदिने प्रस्ताव प्रदेश सरकारले राखेको छ ।

नगरपालिकाले २५ बेडको मात्रै अस्पताल चलाउन पाउँछ । ५० बेडको बनाएपछि प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । प्रदेशको प्रस्तावपछि नगर प्रमुख कल्पना कटुवालले यसलाई नगरपालिकाले नै चलाउने र ५० बेडको अर्को अस्पताल बनाउन प्रदेश सरकारलाई आग्रह गर्नुभएको थियो ।

प्रदेशको छुट्टै अस्पताल बनाउनका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने पनि प्रमुख कटवालले भन्नुभएको थियो ।नगरप्रमुखले ५० बेडको अस्पताल बनाउन अवरोध गरेको भन्दै केही स्थानीय विरोधमा उत्रिएका हुन् । सोही अस्पतालमा नै ५० बेडको अस्पताल सञ्चालन गर्न दिनुपर्ने भन्दै दवाव दिन स्थानीयले प्रदर्शन गरेका थिए।

आज दिउँसो नगरपालिकामा प्रदर्शन गरिरहेका स्थानीय पछि नगर प्रमुखको घरमा गई तोडफोड गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।१५ बेडको अस्पतालको लगभग निर्माण सम्पन्न भइ सञ्चालनको तयारीमा रहेको स्वास्थ्य सह-संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

बरहथवामा कर्फ्यु

सम्बन्धित शिर्षक :