बोली ब्यवहार सुधार होला लुम्बिनी प्रादेशिक अस्पतालका कर्मचारीको?

सेवाग्राहीसँग सहज सञ्चार तथा द्वन्द व्यवस्थापन बारे तालिम

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा अस्पतालमा आउने सेवाग्राहीसँग बोलीचाली सुधार गर्ने उदेश्यले सेवाग्राहीसँग सहज सञ्चार तथा द्वन्द व्यवस्थापन बारे दुई दिने तालिम सम्पन्न भयो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले सेवाग्राहीको आत्मसम्मानमा कुनै पनि ठेस नपुग्नेगरी काम गर्न निर्देशन दिए । अस्पतालमा कुनै एक जना सदस्यले गर्ने गलत व्यवहारका कारण सिङ्गो अस्पतालप्रति सेवाग्राहीको नकारात्मक धारण सिर्जना हुने बताउँदै मेसु थापाले नम्र बोली र सम्मानसहित व्यवहार गर्न आग्रह गरे ।

सेवाग्राही सँगको अन्तर सम्बन्धलाई बलियो बनाउनुका साथै कुनै पनि समय उत्पन्न हुन सक्ने द्वन्द व्यवस्थापनका लागि अन्तरवैयक्तिक सञ्चार विभाग स्थापना गरी सहजीकरण गरिएको छ।

अस्पतालमा हेल्प डेस्क कार्यरत ५ तथा काउन्टर शाखाका कार्यरत ९ गरी १४ जनालाई सहजीकरण गरिएको थियो । यसैगरी शुक्रबार पनि बहिरङ्ग तथा आकस्मिक कक्षको ल्याव शाखाका कार्यरत १६ जना र सामाजिक सेवा इकाईमा कार्यरत ५ गरी २१ जनालाई द्वन्द व्यवस्थापन बारे तालिम प्रदान गरिएको थियो ।

कार्यक्रममा कस्तो अवस्थामा द्वन्द सिर्जना हुन सक्छन् र त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारे सहजीकरण गरिएको अन्तरवैयक्तिक सञ्चार विभागकी प्रमुख माधुरी ज्ञवालीले वताईन।

सहभागीहरुले सेवा प्रदान गर्ने समयमा भोग्नु परेका समस्या तथा आफूले अनुभव गरेका सकारात्मक घटनाहरु बारेका चर्चासहित छलफल गरेका थिए । द्वन्द व्यवस्थापन सम्बन्धि कार्यक्रमले अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सहयोग गरिरहेको विभाग प्रमुख ज्ञवालीले वताईन।

सम्बन्धित शिर्षक :