स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेपछि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बन्ने र युवाहरुको विदेश पलायन रोक्न सकिने बताउनुभएको छ ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित बलेफी माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्यमन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो । उहाँले चिकित्सा शिक्षा अध्ययनका लागि मात्र हरेक वर्ष ठूलो सङ्ख्यामा युवा विदेश पलायन भइरहेकाले उनीहरुलाई स्वदेशमै पढ्न पाउने वातावरण बनाउन विद्यमान चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक रहेको औंल्याउनुभयो ।
नेपालका मेडिकल कलेज र स्वास्थ्य प्रतिष्ठानहरुमा अहिलेको क्षमताभन्दा बढी विद्यार्थीलाई एमबिबिएस र एमडी पढाउन सक्ने क्षमता भएको दाबी गर्नुहुँदै मन्त्री बस्नेतले स्वदेशमा पढ्न नदिएर युवालाई पढ्नकै लागि विदेश पठाउनु सही नभएको जिकिर गर्नुभयो ।
वर्तमान ऐनकै अव्यावहारिक व्यवस्थाका कारण डाक्टर पढ्न मात्र नभएर नर्स पढ्न पनि विदेश जानेको सङ्ख्या उल्लेख्य रहेको उहाँको भनाइ छ ।मन्त्री बस्नेतले भन्नुभयो, ‘‘अब सरकारले चाँडै चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वदेशमै चिकित्सा शिक्षाका सिट बढाउनेछ । त्यसपछि चिकित्सा शिक्षा पढ्न विदेश जानेको सङ्ख्या घट्नेछ ।’’
विदेशी विद्यार्थीसमेत नेपाल आएर चिकित्सा शिक्षा पढ्न चाहिरहेको अवस्थामा आफ्ना विद्यार्थीलाई पढ्नकै लागि विदेश पठाउनु स्वाभाविक नभएको मन्त्री बस्नेतको तर्क छ ।
उहाँले एक सय शय्यादेखि तीन सय शय्याका अस्पतालमा नर्सको पढाइ गर्ने र तीन सय बेडभन्दा माथिका अस्पतालमा एमबिबिएसको पढाइ गर्ने गरी व्यवस्था मिलाउन सकिने गरी मन्त्रालयले प्रस्ताव पास गरेको बताउनुहुँदै मन्त्रिपरिषद्का अधिकांश सदस्यहरुले प्रस्तावलाई सकारात्मक लिएको जानकारी दिनुभयो ।
नेपालमा चिकित्सा शिक्षाको विकास गर्ने र ठोस निर्णय गर्ने अहिलेको बेला उयपुक्त भएको बताउनुहुँदै जनताको हित हुने कुरामा निर्णय गर्न आफू कहिल्यै पछि नपर्ने उहाँको दाबी छ । चिकित्सा शिक्षा ऐन तत्काल संशोधन गर्न नसकिए निकट भविष्यमै चिकित्सक र नर्सको अभाव हुने मन्त्री बस्नेतले उल्लेख गर्नुभयो ।
प्रतिकया दिनुहोस्