धनगढीमा विवाद भएपछि डा केसी अनशन बस्न सकेनन्

स्वास्थ्यसमाचार/चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी कैलालीको गेटामा अनशन नबसेरै फर्किनु भएको छ ।

शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिन अनशनमा बस्ने घोषणा गर्नुभएको डा.केसी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिसँगको वादविवाद पछि अनशन नगरी फर्किनुभएको हो ।

डा.केसीले शुक्रबार दिउँसो सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने माग राखिएको थियो । डा. केसीको उक्त माग अव्यवहारिक भएको भन्दै संर्घष समितिले स्पष्टीकरण मागेपछि केसी रिसाएर फर्किनु भएको छ ।

सरकारले गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने मन्त्रिपरिषद्बाबाट निर्णय गरेर राष्ट्रिय सभामा विधेयक पेश गरिसकेको अवस्थामा केसीले प्रतिष्ठान बनाउन अनशन गर्न लागेको जानकारी पछि सामान्य छलफल गर्न खोज्दा डा.केसी रिसाएर फर्किएको संघर्ष समितिका संयोजक लोक राज पाण्डेले बताउनु भयो ।

‘डा.केसीको एजेण्डामा मेडिकल विश्वविद्यालय नभएर स्वास्थ्य प्रतिष्ठान छ भन्ने हामीले सुनेपछि हामीले वहासँग कुरा गरेका थियौ’ उहाँले भन्नुभयो ‘वहाँ सम्वाद नगरी, हेपाहा प्रवृत्तिमा हामीसँग व्यवहार गरेर जानुभयो ।’

धनगढीबाट मोटरसाइकलमा अनशन स्थल गेटामा पुग्नुभएको केसी आधा घण्टा जति वादविवाद गरेर फर्किनु भएको थियो । उहाँले सुरुमा पत्रकार सम्मेलन गर्ने र त्यसपछि संघर्ष समितिका कुरा सुन्ने बताएपनि संघर्ष समितिले भने गेटामा प्रतिष्ठान बनाउने कुरा मान्य नहुने भन्दै प्रष्ट पार्न आग्रह गरेका थिए ।

डा.केसीले अस्पताल सञ्चालन हुनुपर्छ, एमबीबीएस पढाइ हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउनुभयो । ‘मलाई विश्वविद्यालय होस, प्रतिष्ठान होस, मेडिकल कलेज होस कुनै आपत्ती छैन’ उहाँले भन्नुभयो ‘तर, विश्वविद्यालय भनेको तपाइले सोच्नु भएको भन्दा फरक कुरा हो ।

नेपालमा मेडिकल युनिभर्सिटीमा लगानी पनि त्यतिकै गर्नुपर्छ । आर्थिक मन्दी छ भनेर अस्पताल १५ शैय्याको पनि नचलाउने । हामीसँग सम्झौता भएको थियो नी ।’ त्यसपछि डा. केसी आफू एक्लो आएकाले अनशन बस्न नदिएको भन्दै रिसाएर धनगढी फर्किनु भएको छ ।

सम्बन्धित शिर्षक :