स्वास्थ्यसमाचार/स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सरकारी कोषको रकममा लुट मच्चाउन जथाभावी स्वास्थ्य उपचार गरेर ठग्ने प्रवृत्ति बढ्दै गएको छ । स्वास्थ्य बीमा बोर्ड अन्तर्गत आवद्ध अस्पतालहरुले सामान्य रोगको उपचारका लागि आउने बिरामीलाई जबरजस्ती कथित जटिल रोगको उपचार गरेर ठग्ने प्रवृत्ति बढ्दै गएको हो ।
सामान्य अवस्थाका बिरामीलाई समेत रगत र पिसाब परीक्षण, एक्सरे, भिडियो एक्सरे, महँगा औषधि उपभोग गर्न चिकित्सकमार्फत् सुझाव दिएर अस्पतालले स्वास्थ्य बीमा बोर्डमा जथाभावी रकम सोधभर्ना माग गरिरहेका छन् । अस्पतालले बीमावापतको रकम दाबीका लागि जथाभावी गरिएको बिरामी जाँच, प्रयोगशाला र औषधिको बिल पेश गरेपछि बोर्डले दाबी फछ्र्यौट गर्न सकेको छैन ।
अनैतिकरुपमा उपचार (अनइथिकल प्राक्टिस ) गर्ने प्रवृत्तिबारे गुनासो बढ्दै गएपछि बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदन उपाध्यायले निर्देशन जारी गर्दै अस्पतालहरुलाई त्यसो नगर्न सचेत गराएका छन् । स्वास्थ्य बीमा नियमावलीको प्रावधान विपरित जथाभावी उपचार गरेको अवस्थामा नियमावलीको नियम १९ अन्तर्गत कारवाही गर्ने चेतावनी समेत बोर्डले दिएको छ ।
नियम १९ मा सेवा प्रदायक संस्थाले सम्झौता बमोजिमको सेवा उपलब्ध नगराएमा, अभिलेख अद्यावधिक गरेको नदेखिएमा वा झुठा प्रतिवेदन पेश गरेमा, कार्यक्रम सञ्चालनमा लापरवाही गरेमा वा आफ्नो संस्थामा त्यस्तो सेवा उपलब्ध हुँदा हुँदै पनि अन्यत्र पठाएमा बोर्ड आफैंले वा बोर्डले गठन गरेका समितिले उठाएका विषयहरु सेवा प्रदायक संस्थाले निर्धारित समयावधीभित्र पुरा नगरेमा समयमा सम्झौता स्थगन वा रद्द गर्न सक्ने प्रावधान छ । रद्द गर्नु अघि बोर्डले सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थालाई सफाई पेश गर्ने मौका भने पेश गर्नुपर्नेछ ।
प्रतिकया दिनुहोस्