गृहमन्त्री ज्यु ‘ प्रिन्सिपलले राजीनामा दिनुपर्छ बाध्यताले आन्दोलनमा छौ

युसीएमएस पुगे लुम्बिनीका गृहमन्त्री

स्वास्थ्यसमाचार/आन्दोलनरत विद्यार्थीहरुलाई भेट्न शनिबार लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा (युसीएमएस) पुगेका छन् ।

विगत केही दिनदेखि अस्पतालमा रिले अनसनमा बसेका विद्यार्थीहरुसँग भेटेर गृहमन्त्री पाण्डेयले उनीहरुको माग तथा त्यहाँको अवस्था बारे जानकारी लिएका छन् ।

गृहमन्त्रीलाई युसीएमएसका एक विद्यार्थीले भने, ‘कलेजको प्रिन्सिपलले राजीनामा दिनुपर्छ । उहाँलाई कुनै पनि प्रशासनिक पदमा नियुक्त गरिनहुँदैन । हामीलाई रहरले नभइ बाध्यताले आन्दोलनमा उत्रिनुपरेको छ ।

विद्यार्थी तथा चिकित्सकमाथि बल प्रयोग गरियो, तपाई यस क्षेत्रको पनि अभिभावक हुनुहुन्छ, माग सम्बोधनका लागि पहल गरिदिनुहुन हाम्रो आग्रह छ । ’ उनले आफूहरुलाई कक्षामा बस्ने वातावरण बनाउनका लागि पहल गरिदिन गृहमन्त्री पाण्डेयलाई आग्रह गरे ।

गृहमन्त्री पाण्डेयले नतिजा आउने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘पहल मात्र होइन नतिजा आउने गरी अगाडि बढ्छौं । दशैं लगत्तै पुनः छलफल अघि बढ्छ ।’ विद्यार्थीहरुको माग सम्बोधनका लागि आवश्यक छलफल अघि बढ्ने मन्त्री पाण्डेयको भनाइ छ ।

आन्दोलनरत विद्यार्थीहरुको समूहले कलेजका प्रिन्सिपल प्रा डा लक्ष्मी पाठकले राजिनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । विद्यार्थीहरुले प्रिन्सिपल पाठकले विद्यार्थीको अभिभावकत्वको जिम्मेवारी बहन गर्नुको सट्टा आफ्ना माग लिएर गएका विद्यार्थीलाई उल्टै अपमानजनक व्यवहार गर्ने गरेकाले आन्दोलन गर्नुपरेको बताए ।

आन्दोलनका कारण अस्पतालमा उपचार सेवा प्रभावित भएको छ ।

 

सम्बन्धित शिर्षक :