बुटवल / आज विश्व मानसिक स्वास्थ्य दिवस । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो । ‘मानसिक स्वास्थ्य: एक सार्वभौमिक मानव अधिकार’को मूल नाराका साथ आज यो दिवस मनाइँदैछ । विश्वमा अहिले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिले अधिकांशमा तनावको समस्या छ । तनावका कारण अनेक रोगव्यादीको संक्रमण हुने र मानिसको स्वास्थ्यलाई कमजोर बनाइरहेको छ ।
बढ्दो छ मानसिक स्वास्थ्य समस्या
नेपालमा भने मानसिक रोगको स्थितिका बारेमा एकिन भरपर्दो तथ्याङ्क छैन तर एक अध्ययनका अनुसार कम्तीमा पनि १० नेपालीमध्ये २ जना कुनै न कुनै मानसिक समस्याको चपेटा परेको देखिन्छ । यो संख्या दिनप्रति दिन बढ्दै गएको छ । मुख्य रुपमा नेपालीहरू डिप्रेसन, दुश्चिन्ता, फोबिया, मेनिया, तनाव, मानसिक थकान, यौन समस्या, लागुऔषध दुव्र्यसन तथा सिजोफ्रेनिया आदिबाट पीडित रहेको विज्ञहरुका भनाइ छन् ।
खासगरी कोरोना कहरको महामारीपछि विश्वव्यापी रुपमा बढिरहेको आर्थिक मन्दी र त्यसले सिर्जना गरेको बढ्दो बेरोजगारी, अव्यवस्थित जीवनशैली, असफलता, मानसिक तनावलगायतका समस्याले मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।
विश्वमा एक अरबभन्दा धेरै जनामा मानसिक स्वास्थ्यको समस्या रहेको बताइन्छ । नेपालमा पनि मानसिक स्वास्थ्यको समस्या बढिरहेको मनोविद्हरु बताउँछन् । अस्थिरता, अलमल, आर्थिक मन्दी र त्यसले उत्पन्न गराइरहेको बेरोजगारी, चरम मूल्यवृद्धि र अभावलगायतको असरले धेरैमा तनाव उत्पन्न गराएको छ । शारीरिक स्वास्थ्य सँगसँगै मानसिक स्वास्थ्यको पनि ख्याल राख्ने र उच्च मनोबल कायम राख्ने हो भने धेरैजसो रोगहरुको निदान प्रभावकारी हुने विज्ञहरुको सुझाव छ ।
मानसिक स्वास्थ्य समस्या विश्वव्यापीरुपमा भुसको आगोझैं फलिँदै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार विश्वका १ अरबभन्दा बढी मानिसहरु कुनै न कुनै मानसिक स्वास्थ्य समस्याहरुबाट पीडित छन् । जसमध्ये सबैभन्दा बढी ३४ करोड मानिसहरु एनजाइटि डिसअर्डर (दुश्चिन्ता) को चुंगलमा परेका छन् भने ३० करोड मानिसहरु डिप्रेसनबाट पीडित छन् ।
त्यस्तैगरी मद्यपानको समस्याबाट १० करोड ७० लाख, लागुपदार्थको लतको समस्याबाट ७ करोड १० लाख, बाइपोलर डिसअर्डरबाट ६ करोड ६० लाख, जटिल मानसिक समस्या सजोफ्रेनियाबाट २ करोड ३० लाख मानिसहरु पीडित छन् । साइकोथेरापिस्ट ओम बानियाँका अनुसार हरेक वर्ष कम्तीमा पनि विश्वका ८० लाख मानिसहरु मानसिक समस्याहरुका कारण मर्ने गरेको तथ्याङ्क छ ।
विश्वका कैयन् मुलुकले मानसिक स्वास्थ्यलाई मानवअधिकारसँग जोडेर सोहीअनुरुपका कार्यक्रम बनाएका छन् । मानसिक रुपमा सबल, सक्षम र स्वस्थ नागरिक उत्पादनमा विश्वका धेरै मुलुकको ध्यान गएको छ । हामीकहाँ भने अहिले पनि मानसिक स्वास्थ्यलाई त्यति धेरै प्राथमिकतामा राखेको पाइँदैन । कोभिडका समयमा योग, ध्यान र प्रणायामका अभियान त सुरु भएका छन् तर अहिले ती सबै नियमित छैनन् । धेरैले मानसिक स्वास्थ्यमा उत्पन्न हुने समस्यालाई बौलाएको भन्दै हेलाहोंचो गर्न छाडेका छैनन् ।
के हो मानसिक स्वास्थ्य समस्या ?
मानिसको भौतिक शरीर जसरी विभिन्न रोगहरूद्वारा ग्रस्त हुन्छ, ठिक त्यसैगरी मानिसको मन पनि विभिन्न कारणहरू (जैविक, मनोवैज्ञानिक तथा सामाजिक आदि कारणहरू) ले विकार ग्रस्त हुन सक्दछ । मनको यस्ता विकारहरूलाई नै मनोरोग अर्थात् मानसिक रोगको संज्ञा दिइन्छ । तर मानसिक रुपमा पैदा हुने यस्ता समस्याहरुलाई मानसिक रोग वा मनोरोग होइन मानसिक समस्या वा मनोवैज्ञानिक समस्या भन्नु पर्ने तर्क कतिपय चर्चित मनोचिकित्सकहरुको छ । मानसिक समस्याहरू बीसौं प्रकारका छन् । डिप्रेसन, चिन्तारोग तथा स्किजोफ्रेनिया आदि मानसिक समस्याहरुका प्रमुख उदाहरणहरू हुन् ।
उपचार छ तर सर्वसुलभ छैन
विश्वमा मानसिक समस्याको उपचारका लागि ठूलो फड्को मारेको अवस्था छ । हिजोआज विश्वमा अनेक किसिमका चिकित्साहरु प्रचलनमा आएको भएता पनि नेपालमा भने मानसिक समस्याको उपचार शर्वसुलभ हुन सकेको छैन । अन्धविश्वासमा जकडिएको समाज, अशिक्षा र गरिबी, दक्ष जनशक्तिको अभाव तथा मानसिक स्वास्थ्य सेवाप्रति सरकारको उदासिनताले नेपालमा उचित मानसिक स्वास्थ्य सेवा उपलब्ध हुन सकेको छैन ।
विश्वमा अहिले मानसिक समस्याको उपचारका लागि जैविक चिकित्सा (औषधी तथा विद्युत् आघातद्वारा चिकित्सा) र मनोचिकित्सा (साइकोथेरापी) पद्दतिको प्रयोग हुँदै आएको छ । यसका साथै पूरक तथा वैकल्पिक चिकित्साका पनि प्रयोग हुँदै आएको छ ।
राज्यको स्वास्थ्य कार्यक्रममै समावेश हुनुपर्छ
सरकारी प्रयास पनि स्वास्थ्य क्षेत्रमा प्रभावकारी छैन । पछिल्ला समयमा राज्यको केही ध्यान सरुवा रोग नियन्त्रण र शारीरिक स्वास्थ्यमा केन्द्रित भएपनि मानसिक स्वास्थ्यतर्फ अझै ध्यान गएको छैन । जनस्वास्थ्यको एउटा अर्को गम्भीर समस्या बनिरहेको मानसिक स्वास्थ्यलाई राज्यले स्वास्थ्य कार्यक्रमभित्रै समाहित गरेर उपचार संयन्त्र निर्माण गर्न अपरिहार्य छ ।
मानसिक रोगको आँकलन, बिमारी र तिनका अभिभावकलाई सहजीकरण र भरथेग गर्ने, उपचार गर्ने जनशक्ति तथा समाजिक सेवाकर्ता अत्यन्तै कम छन् । परिवारदेखि, टोल, समाजमा छिछि र दूरदू्र गर्ने गरेका कारुणिक घटनाहरु पनि छन् । स्वास्थ्यको मानसिक, मनोवैज्ञानिक र सामाजिक आयाम र सरोकारलाई अब जनस्वास्थ्यको विशेष कार्यक्रममा समावेश गर्न जरुरी भएको र मानिसले पनि रहनसहन, खानपानमा विशेष ख्याल गर्न जरुरी रहेको मनोविद् डा.मनोज ढुंगानाको भनाइ छ ।
ढुंगाना यसक्षेत्रका वरिष्ठ मानसिक रोग विशेषज्ञ हुन् । उनको क्लिनकमा मानसिक स्वास्थ्यको समस्या लिएर आउने बिरामीको संख्या हरेक वर्ष बढिरहेको छ । बिरामीको चाँप, अवस्था र सामाजिक अवस्थाका कारणले पनि मानसिक स्वास्थ्यलाई जनस्वास्थ्यको संवेदनशीलतासँग जोडेर राज्यले नै विशेष कार्यक्रम बनाउन जरुरी रहेको डा.ढुंगाना बताउँछन् ।
साइकोथेरापिष्टसमेत रहेका यसक्षेत्रका वरिष्ठ मनोविद् ओम बानियाँले मानसिक स्वास्थ्यको समस्या बढ्दो मात्रामा रहेको बताउँछन् । उनका अनुसार मानसिक समस्याहरुको उपचारका लागि मनोवैज्ञानिक उपचारका साथै योग, ध्यान, प्राकृतिक जीवनशैलीलाई नै जोड दिनुपर्छ । बानियाँले लक्षणहरु कम गर्न प्रतिप्रभाव नगर्ने जडीबुटीको प्रयोगबाटै उपचार गर्नुपर्ने बताए ।
कतिपय जडीबुटीहरुले मानसिक समस्याहरुमा साइड इफेक्टबिना एन्टीडिप्रेसेन्ट जस्ता साइक्याएट्रिक मेडिसिनले भन्दा पनि प्रभावकारी असर देखाउन कुरा अनेक अध्ययनहरुले देखाएको उनको दाबी छ । उनी थप्छन्–मानिसको मन र मस्तिष्क एउटै कुरा होइन, फरक फरक कुरा हुन् । मस्तिष्क शरीरको एक प्रमुख भौतिक अङ्ग हो भने मन भौतिक अङ्ग होइन । मन मस्तिष्क जस्तो दृश्य पनि छैन । मन अदृश्य छ । जहाँ मस्तिष्कको सम्बन्ध भौतिक शरीर (फिजिकल बोडी) सँग छ भने मनको सम्बन्ध मानसिक शरीर (मेन्टल बोडी) सँग छ ।
के गर्ने त ?
मानसिक फिटनेस योजना बनाउने, पोषणयुक्त खानेकुरा खाने र प्रशस्त पानी पिउने, आफ्नो भावना व्यक्त गर्नुहोस्, निद्रा पुग्ने गरी सुत्ने, आराम गर्ने, व्यक्तिगत र व्यावसायिक जीवनको लक्ष्य सेट गर्ने, नयाँ कुरा कोसिस गरिरहने, मानसिक समस्याहरुको लक्षणहरूमा ध्यान दिने र विषयविज्ञका डाक्टरको मद्दत लिन विज्ञहरु सुझाउँछन् ।
प्रतिकया दिनुहोस्