आर सी थारु मेमोरियल अस्पताललाई सिकलसेल एनिमिया अस्पतालको रुपमा बिकास गरिने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश भित्र सिकल सेल एनिमिया रोगको उपचार हुने छुट्टै अस्पतालको आवश्यक्ता रहेको बताउनु भएको छ ।

जिल्ला अस्पताल बर्दिया, आर सी थारु मेमोरियल अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुको अनुगमनका क्रममा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै खनालले यस्तो बताउनु भयो।

यसका लागी चालु आर्थिक वर्षमा ३० लाख रुपियाँ प्रदेश स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको जानकारी दिदै मन्त्री खनालले सिकल सेल एनिमिया अस्पताल सञ्चालनका बारेमा संघिय सरकारसँग पनि आफूले कुरा गरेको बताउनु भयो ।

स्थानिय सरकारलाई शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्न आग्रह गर्दै मन्त्री खनालले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै घर नजिक पाउने व्यवस्था मिलाउन प्रदेश सरकार गम्भिर रहेको बताउनु भयो ।

सिमित बजेटका बिच पनि सरकारले सुरु गरेका कामको प्रतिफल नागरिकले पाउन थालेको भन्दै मन्त्री खनालले सरकारले उपलब्ध गराएका सेवाको बारेमा आम नागरिकलाई जानकारी दिन आबश्यक रहेकोमा जोड दिनुभयो ।

बार बर्दियामा आयोजित छलफलका सहभागीहरुले सिकल सेलका बिरामीको निशुल्क स्वास्थ्य बिम गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएकोमा खुशी व्यक्त गर्दै सिकल सेलको औषधीलाई स्वास्थ्य वीमामा समाबेश गर्न आग्रह गरेका थिए ।

यस्तै सिकल सेलका बिरामीहरुले सिकल सेलका बिरामीको उपचारका लागी छुट्टै अस्पताल बनाइन पनि माग गरेका थिए । स्वास्थ्य मन्त्री खनाल ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको द्वन्द्व पीडितहरुको सामुदायिक समावेशीकरणका लागि मनोसामाजिक परामर्श कार्यक्रम सम्बन्धी लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय, सी एम सी नेपाल र दातृ निकायहरु वीचको अन्तक्र्रिया कार्यक्रममा पनि सहभागि हुनु भयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले द्वन्द्व प्रभावित सहित सबै प्रकारका हिंसा वा द्वन्द्व प्रभावितलाई मनोसामाजिक परामर्श चाहिएको भन्दै तिनै तहका सरकारले यसमा ध्यान दिनुपर्ने बताउनु भयो ।

एक पक्षले मात्र काम गरेर नहुने भन्दै मन्त्री खनालले नजिकको सरकारको रुपमा रहेको स्थानिय सरकारले यसमा बढि ध्यान दिनुपर्ने बताउनु भयो । मानसिक लगायतका नसर्ने रोगका बिरुद्ध तिन तहका सरकारले मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सम्बन्धित शिर्षक :