लुम्बिनीमा खकार ढुवानी वाट१४५७ क्षयरोगका विरामीहरु पत्ता लागे

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा क्षयरोग अर्थात टीबीका विरामीहरू पत्ता लगाउनको लागि खकार ढुवानी सेवाको प्रभावकारीता देखिएको छ ।

प्रदेशका गाउँ गाउँमा रहेका संभावित क्षयरोगका मानिसहरु आफै सहज रूपमा निदान केन्द्र अर्थात प्रयोगशाला सम्म पुग्न सक्ने अवस्था अहिले पनि छैन  र सवै स्वास्थ्य संस्थाहरुमा क्षयरोगको गुणस्तर जाँचको सुविधा उपलब्ध छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार उपलब्ध भए सम्म क्षयरोगको संभावित विरामीहरुको जाँच जिन एक्सपर्ट मेसिनमा गर्न सिफारिश गरेको छ जसबाट खकारमा क्याफ्टेरियाको मात्रा तुलनात्मक रुपमा कम भए पनि क्षयरोगको निदान गर्दछ ।

क्षयरोगको औषधी (Rifampicin ) को पनि प्रतिरोध (Resistant) छ की छैन भनेर निर्धारण गर्दछ तर प्रदेशमा हाल १८ वटा साइटमा मात्र जिन एक्सपर्ट निदान सेवा छ र महंगो प्रविधि भएको कारणले स्थानीय तह सम्म यसको व्यवस्थान गर्न सकिएको छैन । यो सन्दर्भलाई ध्यानमा राखी खकार ढुवानी सेवाको सुरुवात भएको हो ।

ग्लोवल फण्ड कार्यक्रम अन्र्तगत सेभ द चिल्ड्रेनको सहयोगमा स्थानीय गैरसरकारी संस्था किट्सबाट लुम्बिनी प्रदेशका ९ वटा जिल्लाका ६८ पालीकाहरूमा यो सेवा जारी रहेको छ । यस सेवा अन्र्तगत स्वास्थ्य संस्थाको ओपिडीमा आएका विरामीहरूमा स्वास्थ्यकर्मीले संभावित क्षयरोगको पहिचान गरि स्थलगत रुपमा खकार संकलन गरिन्छ र साप्ताहिक वा आवश्यकता अनुसार संस्थाका तोकिएका कर्मचारीहरुले जिन एक्सपर्ट केन्द्र वा गुणस्तर माईक्रोष्कप केन्द्रहरुमा निदानका लगि खकार ढुवानी गर्दछन् ।

क्षयरोगको निदान भएमा तुरुन्त सम्बन्धित विरामी र उपचार केन्द्रलाई उपचारको लागि खबर गरिन्छ जसबाट विरामी उपचारबाट हराउने सम्भावना कम हुन्छ । किड्सका अनुसार आ.ब. ०७९/८० मा लुम्विनी प्रदेशका ९ वटा जिल्लाका स्वास्थ्य संस्थाहरुबाट २०,७०३ संभावित क्षयरोगका विरामीहरुको खकार ढुवानी भएको छ जसबाट १४५७ क्षयरोगका विरामीहरु पत्ता लागेका छन् ।

यो संख्या उक्त सेवा भएका जिल्लामा पत्ता लागेका जम्मा फोक्सोका क्षयरोगका विरामीहरुको ३५ प्रतिशत योगदान हो ।यसरी गाउँ गाउँबाट संकलन गरिएको खकार परीक्षणबाट निदानमा सहजै आउन नचाहने र हराउन सक्ने व्यक्तिहरू सहजै पहिचान गरि निशुल्क उपचार सेवामा ल्याउनुमा यो सेवाले निकै सहयोग गरेको र नयाँ क्षयरोग पत्ता लाग्ने दरमा बढोत्तरी आएको सेभ द चिल्ड्रेन बुटवलका बरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंह बताउँछन् ।

उनका अनुसार पहिलाको तुलानामा स्वास्थ्य संस्थाहरुमा संभावित क्षयरोग भएका व्यक्तिहरुको पहिचान गर्ने, उपयुक्त परामर्श गर्ने, निदानका लागि पठाउने र निदान भएका विरामीहरुको उपचार व्यवस्थापन गर्ने प्रक्रिया व्यवस्थित र नियमित भएको छ जुन विरामी केन्द्रीत सेवा दिने एउटा अभ्यास हो । अझै यो सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न क्षयरोगलाई एकिकृत र बहुपक्षीय ढाँचाको साथै क्षयरोगको पहिचानमा समुदायको सहभागिता बढाउनु पर्ने सिंह बताउछन्।

लुम्बिनी प्रदेशमा यसरी गाउँ गाउँबाट परिक्षणको नतिजा घर घरमा नै उपलब्ध भएपछि क्षयरोगको उपचारको लागि समेत सहज भएको बताइएको छ । सुरुवातमा पत्ता लगाउन नै समस्या भएको बेलामा पत्ता लागे पछि उपचारको लागि सहज हुने गरेको छ ।

सरकारले राष्ट्रिय क्षयरोग कार्यक्रम अन्र्तगत व्यवस्थापन गरेका जिन एक्सपर्ट बाट यसको परिक्षण हुँदै आएको छ । एउटा परिक्षण गरेको एक्स्पोले ५० रूपैयाँ पाउने व्यवस्था समेत गरिएको छ । जसबाट जिन एक्सपर्ट सेवा भएका अस्पतालहरुमा क्षयरोगको शंका लागेका विरामीहरूको विषयमा ओपीडीमा रहेका चिकित्सकहरूले खकार परिक्षणको लागि सम्बन्धित प्रयोगशालामा सिफारिस समेत गर्दै आएका छन् ।

 

सम्बन्धित शिर्षक :