थाइराइड कुनै जटिल रोग नभएपनि यसको गडवडी भएमा उपचार भने गर्नुपर्छ। नेपाल जस्तो खानामा आयोडिन उपलब्ध नहुने मुलुकमा २० प्रतिशत मानिसमा थाइराइडको समस्या रहेको छ। विशेषज्ञ डाक्टरको सल्लाहमा यदि यो ग्रन्थी घटेको (हाइपो) भए बढाउने र यदि बढी भएको (हाइपर) भए घटाउने औषधी लिए कुनै समस्या हुदैन।
औषधीको सेवनपछि समय समयमा परीक्षण गरी डाक्टरको सल्लाहमा औषधी घटाउन वा बन्द गर्न पनि सकिन्छ। थाइराइडको पहिचान लक्षण उपचार र चुनौतीबारे ह्याम्स अस्पतालमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा.विनय भट्टराईसँग गरिएको कुराकानी।
के नेपालमा थाइराइडका बिरामी बढेका हुन ?
नेपालमा हाइपोथाइराइड हर्मोन उत्पादन नहुने समस्या पहिले देखि नै थियो अहिले परीक्षणले बढी देखिएको हो। यसको उर्जा नै आयोडिन हो। आयोडिनको कमी भएको देशहरूमा यो बढी देखिएको छ। यो किन बढ्यो भन्दा पहिला पहिला थाइराइडको टेस्ट नै हुदैन थियो अहिले गाउँ गाउँमा सबैतिर यसको परीक्षण भइरहेको छ त्यो भएर पनि एकदमै थाइराइडको बिरामी देखिएको हो तर पहिले पनि हुन्थ्यो। नेपालमा लगभग हाइपोथाइराइड हर्मोन उत्पादन नहुने समस्या २० प्रतिशत जति छ होला।
यसको पहिचान कसरी गरिन्छ ?
थाइराइडको पनि प्रकार हुन्छ। थाइराइड भनेको रोग होइन ग्रन्थी हो। जुन हाम्रो घाटीमा पुतली आकारको हुन्छ। यो रूद्रघण्टी भन्दा तल हुन्छ। त्यहाँबाट हर्मोन धेरै उत्पादन भयो भने त्यसलाई हाइपर थाइराइड भनिन्छ। र कम उत्पादन भयो भने त्यसलाई हाइपोथाइराइड भनिन्छ। नुनमा किन आयोडिन हालियो भन्दा डब्लूएचओको गरेको अध्ययनमा संसारभर सबैभन्दा धेरै नुन खाने रहेछन्। त्यसकारण नुनमा आयोडिन हालेर आयोडिनको कमि भएको मुलुकमा वितरण गरिएको हो। पहिले पहिले हजुरबुबा हजुरआमाहरूमा गलगाडको समस्या देखिने गर्थ्यो अहिले त्यो समस्या छैन वा लगभग शुन्य नै छ। नुनमा भएको आयोडिनले गलगाड हुनबाट बचाउछ।
यसका लक्षणहरू के के हुन ?
यसका लक्षणका कुरा गर्दा थाइराइड हर्मोन उर्जा दिने हर्मोन हो। हाइपो थाइराइडमा थाक्ने, गल्ने, महिनावारीमा ब्लड बढी जाने, मोटाउने र बाझोपनको समस्या हुने हुन्छ। हाइपरथाइराइडमा तौल घट्ने, हातहरू काम्ने, मुटु ढुकढुक हुने र यसमा पनि महिनावारी गडबडी हुने जस्ता लक्षण देखिन्छन्।
उपचार कसरी कसरी गरिन्छ ?
यसमा बिरामीलाई हामीले थाइराइड परीक्षण गर्छौ । त्यसबाट हाइपर हो कि हाइपोथाइराइड हो थाहा हुन्छ। टेस्ट गर्दा हाइपो थाइराइड रहेछ भने एउटा औषधी हुन्छ बिहान खालि पेटमा खाने जुन हर्मोन ननिस्केकोहरुको लागि त्यही हर्मोनहरूलाई वैज्ञानिकहरूले ट्याब्लेटको रूपमा बनाइएका छन्। र त्यही औषधी खाने हो। हाइपरथाइराइडमा पहिले अपरेसन नै गर्नुपर्थ्यो अहिले अठार महिना देखि दुईवर्ष सम्म खाने एउटा औषधी हुन्छ। जसले हाइपरलाई सुकाएर हाइपो बनाइदिने हुन्छ। यसलाई रेडियो आयोडिन थेरापी भनिन्छ। अहिले यसको उपचार यसरी नै गरिन्छ।
थाइराइडबारे के कस्ता भ्रम छन् ?
यसमा थाइराइड भनेको ठुलो रोग नै होइन। हाइपो भनेको ननिक्लेको हर्मोन जसलाई बाहिरबाट दिइन्छ। हाइपर भनेको बढी निस्केको त्यसलाई औषधी वा रेडियो आयोडिन थेरापी दिएर सुकाएर हाइपो बनाउने हो। यसमा आत्तिनु पर्दैन। मानिसहरूमा खानपान सम्बन्धी धेरै भ्रमहरू छन् काउली, बन्दा नखाने, भटमास, फ्रिजको पानी नखाने गर्छन तर यो सबै खान मिल्छ। काउली बन्दा नखाएर आलु पिँडालु धेरै खाएर मोटाएर सुगर भई बिरामी आएका हुन्छन्। थाइराइडमा केही पनि बार्नु पर्दैन। अर्को थाइराइड हर्मोन नर्मल भयो भने स्वस्थ बच्चा हुन्छ। डाक्टरको सल्लाहमा योजना बनाउन सकिन्छ। उच्च थाइराइड भएर पनि औषधी दिएर नर्मल भएपछि बच्चा हुन्छ।
अर्को बिचमा के भ्रम आयो भने आयोडिन नुनका कारणले थाइराइडको समस्या बढी देखियो भन्ने त्यसले गर्दा आयोडिन युक्त नुन छाडेर पिङ्क साल्ट खाइ गलगाड आयो भनेर शिक्षित मानिसहरू पनि हामी कहाँ आइराखेका छन्। तर यस्तो नगर्नुहोला अनुसन्धान गरेको भएकाले आयोडिनयुक्त नुन नै खानु होला।
यो रोगको चुनौती के के छन् ?
मे २५ वर्ल्ड थाइराइड डे २०२३ को थिम थाइराइड डिजिजको बर्डेन कसरी कम गर्न सकिन्छ भन्ने रहेको छ। यसको कम वा बढीको रिप्लेसमेन्ट मात्र हो यसको पूर्ण निदान भने छैन। यसमा थाइराइडको औषधी खाइराख्नु भएकाले दस भन्दा तल टिएचएस छ। एन्टीबडी नेगेटिभ छ यदि गर्भवती हुने प्लान छैन भने थाइराइडको औषधी नखाए पनि हुन्छ। कतिले थाहा नभएर यत्तिकै पनि खाइरहेका हुन्छन्। समय समयमा परीक्षण गरेर औषधी मिलाउनु पर्छ।
अन्तमा सुझाव केही छन् ?
थाइराइड ठुलो रोग होइन यसमा आत्तिहाल्नु पर्दैन। विशेषगरी गर्भास्था र बच्चामा भने ख्याल राख्नुपर्छ। बच्चामा यदि हाइपोथाइराइड छ भने बच्चा नबढ्ने समस्या हुन्छ। त्यसकारण आफ्नो बच्चाको हाइट बढी रहेको छैन भने थाइराइडको टेस्ट गराएर औषधीले रिप्लेस गरायो भने हाइट बढ्छ। गर्भास्थामा हाइपोथाइराइड छ भने औषधीहरू रिप्लेसमेन्ट नगर्यो भने बच्चाको बुद्धि विकास र वुद्धि विकासमा समस्या हुनसक्छ। जन्मने बित्तिकै हरेक बच्चाको थाइराइड स्क्रिनिङ गर्नु पर्ने मेडिकल प्रोटोकल छ। जुन संसारभर हुन्छ नेपाल सरकारले त्यो लागू गर्न सकेको छैन यो लागु गर्नु पर्छ। बच्चा जन्मेको ४८ देखि ७२ घण्टामा सबै बच्चाको थाइराइडको टेस्ट गरिदियो भने पछि गएर बच्चामा आउने थाइराइड सम्बन्धि समस्या आउदैन।
प्रतिकया दिनुहोस्