मेडिकल शिक्षा पढाउने शिक्षण संस्था बन्द भएको भन्दै सञ्चालहरू आन्दोलनमा

स्वास्थ्यसमाचार/राष्ट्रिय चिकित्सा शिक्षा ऐन र प्राविधिक शिक्षा तथा तालिम परिषद्को पुनः संरचनाको माग गर्दै चिकित्सा शिक्षा व्यवसायी आन्दोलित भएका छन् ।

ऐनका कारण नेपालमा चिकित्सा शिक्षा पढाउने २ सय २८ शिक्षण संस्था बन्द हुने र करोडौं रकम विदेशिने अवस्था आएको भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समिति लुम्बिनी प्रदेश आन्दोलित भएको हो ।

संघर्ष समितिले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै समितिले विभिन्न १४ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको छ । स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरुको भर्ना खोल्नुपर्ने, बन्द भएका नर्सिङ कलेजहरुको तत्काल भर्ना खोल्नुपर्ने, छात्रवृत्तिमा विभेद अन्त्यगरी समानताका आधारमा छात्रवृत्तिको अवसर पाउने ग्यारेन्टी गर्नुपर्ने लगायतका माग समितिको छ ।

यसैगरी नर्सिङ लगायतका पारामेडिकल विषयहरु चिकित्सा शिक्षाबाट अलग गरिनु पर्ने, खुला बजार अर्थनीतिअनुसार मूल्य निर्धारणको व्यवस्था, हरेक तहका लागि अस्पताल चाहिने कार्यविधि खारेज तथा विश्वविद्यालय प्रतिष्ठानहरु, विषयगत काउन्सिलहरु र सीटीईभीटीलाई स्वायत्त बनाउनु पर्ने मागसमेत अगाडि सारेको छ ।

समिति संयोजक प्रकाश रानाका अनुसार सीटीइभीटी अन्तर्गतका प्रि(डिप्लोमा तहका स्वास्थ्य विषयका १ सय ३७ र स्टाफ नर्स ७३ वटा बन्द भएका छन् । यस्तै विश्वविद्यालय अन्तर्गतका स्नातक तहका बीएन १० र बीएस्सी नर्सिङ ८ वटा शिक्षण संस्था बन्द भएका छन् ।

नेपालमा शिक्षण संस्था बन्द हुँदा भारतीय सीमा नाकामा भने धमाधम मेडिकल कलेज तथा शिक्षालय खुलिरहेका छन् । त्यसले लाखौं रकम बाहिरिएको व्यवसायीहरुको दाबी छ ।

नेपाल चिकित्सा संघका पूर्वअध्यक्ष मुक्ति श्रेष्ठले ऐनका कारण नेपाल मेडिकलसम्बन्धी अध्यापन गराउने शैक्षिक संस्थाहरु बन्दै हुँदै जाँदा जनशक्ति उत्पादन रोकिएर अभाव सिर्जना हुँदै गएको बताए । गलत शिक्षा ऐनका कारण चिकित्सा शिक्षा धरापमा परेको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक :