शिवराज स्वास्थ्य प्रमुखद्वारा मदिरा सेवन गरी महिला कर्मचारीमाथि दुर्व्यवहार

स्वास्थ्यसमाचार/ कपिलवस्तुको शिवराज नगरपालिकाकी एक महिला कर्मचारीमाथि आधारभूत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुखसहित दुई जनाले रातिको समयमा अभद्र व्यवहारको उजुरी परेको छ ।

नगरपालिकाले सञ्चालन गरेको आधारभूत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिकाका भुवन पाण्डेले राति ड्युटीमा खटिएका महिला कर्मचारीमाथि मदिरा सेवन गरी अभद्र व्यवहार गरेको उजुरी परेपछि नगरपालिकाले आरोपित दुवैलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालेको छ ।

शुक्रवार राती करिब ११ बजे मदिरा सेवन गरी आधारभूत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख पौडेल र भुवन पाण्डेले महिला कर्मचारीलाई यस्तो व्यवहार गरेको ती महिला कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई निवेदन दिएकी छन्।

शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले घटनाको सत्य तथ्य बुझ्नका लागि आरोपित कर्मचारीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालेको बताए । अनुसन्धानबाट दोषी भेटिए कानुन बमोजिम कारबाही हुने र अनुसन्धान सहजताका लागि जिम्मेवारीबाट हटाइएको उनले जनाएका छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख शेखरजंग मल्लले घटना बारेमा आफूले जानकारी पाएको तर, अहिलेसम्म कहीँ पनि उजुरी दर्ताका लागि भने नआएको बताए ।

‘घटना शुक्रवार रातिको भएको भन्ने छ । यद्यपि अहिलेसम्म यस घटनाबारे कसैले पनि उजुरी दिन आउनु भएको छैन। यसबारेमा हामी अनुसन्धान गर्छौँ,’ उनले भने ।

अन्य कर्मचारीले रातिको समयमा मदिरा सेवन गरेर ती महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको तर बाहिर प्रचारमा आएको बलात्कार प्रयासका विषयमा अनुसन्धान हुनुपर्ने जनाएका छन् ।

 

सम्बन्धित शिर्षक :