९ देखि १४ वर्षका किशोरीलाई लगाउन पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी )खोप आइपुग्यो

स्वास्थ्यसमाचार/सरकारले खरीद गरेको पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप नेपाल आइपुगेको छ । भबिस्यमा हुनसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एचपीभी खोप दिने भनेको थियो । सोही अनुसार यसपटक २० हजार भाइल खोप आएको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तका आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले केही बेर अघि २० हजार भाइल एचपीभी खोप आइपुगेको बताए । यो खोप चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको हो ।

सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको खोप हो । ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई दुई मात्रा र १५ वर्ष माथिकालाई तीन मात्रा दिन सकिन्छ । विभागलाई खोप सप्लाई गरेको नन्दकेम ड्रग डिस्ट्रीव्युटर्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ सन्देश सिग्देलले बताए ।

‘आएको खोप कहाँ र कहिले देखि लगाउने निधो भइसकेको छैन’

गत आर्थिक वर्षको बजेटमै उल्लेखित यो खोप कार्यक्रम आर्थिक वर्ष सकिन १० दिन बाँकी छँदा आइपुगेको छ । ज्यादै थोरै मात्रा २० हजार भाइल मात्रै भएकोले यो खोप कहिले देखि कहाँबाट सुरु गर्ने भन्ने अन्योलता यथावत छ । दुई डोज दिनु पर्ने हुनाले यो खोपले पुरै प्रयोगमा आएपनि १० हजार जना किशोरीलाई पुग्न सक्छ ।

खोप सञ्चालन गर्ने निकाय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले कहाँ र कहिले देखि लगाउने भन्ने विषयमा निर्णयमा पुगि नसकेको बताउँछ । महाशाखाका निर्देशक डा विवेककुमार लालले यो खोपको विषयमा गाइडलाइन तयार पारेर मन्त्रालयमा पठाएको भएपनि स्वीकृत भएर आइनसकेको बताए । ‘गाइडलाइन स्वीकृत भएर कहाँ कहाँ लगाउने भन्ने विषयमा मन्त्रालयले नै निर्णय गर्ला, त्यसपछि अभियान सुरु हुन्छ’ उनले भने ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस९एचपीभी० लाई मानिएको छ । जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछ । एचपीभी भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ ।

‘यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ । एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशत भन्दा बढी क्यान्सर गराउँछ ।

त्यसैले बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु पर्दछ भनिएको हो ,’क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले भने ।

नेपालमा ‘सन् २०१५ मै नेपालले चितवन र कास्कीमा एचपीभी खोप पाइलटिङ गरेको थियो । तर आवश्यकता अनुसार खोपको उपलव्धता हुन नसक्दा सो कार्यक्रम बीचमै रोकिएको हो ।सरकारले आगामी आर्थिक वर्षको बजेटमा एचपीभी खोप कार्यक्रमलाई विस्तार गर्ने उल्लेख गरेको छ ।

सम्बन्धित शिर्षक :