बुटवलमा दुईवटा अस्पताल र आम्दामा आमा सुरक्षा कार्यक्रम लागू हुने

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि  २ अर्ब ३६ करोड ५४ लाखको बजेट पेश गरेको छ ।

बुटवल उपमहानगरपालिकाको १३औं अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै ९१ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य तय गर्दै शिक्षामा विद्यालय सुधार कार्यक्रम र स्वास्थ्यमा दुईवटा अस्पताल सञ्चालन गर्ने प्रस्ताव पेश गर्नुभएको हो ।

बजेटमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुको लागि १६ करोड ५० लाख, कृषि, पशुपंक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४० लाख, फोहोरमैला व्यवस्थापन तथा वातावरणतर्फ १ करोड ८३ लाख छुट्याइएको छ ।

बजेटले स्वास्थ्यतर्फ बुटवल १३ र १७ मा १५/१५ शैयाका अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्न २ करोड बजेट छुट्टिएको छ । वडा नं. १३ को अस्पताललाई चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न र बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गर्ने, बुटवलबासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निशुल्क गराउने घोषणा बजेटमार्फत गरिएको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरुका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालनका लागि १ करोड रुपैयाँ बजेट छुट्याइएको उपप्रमुख अर्यालले बताउनुभयो ।नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी नगरप्रमुख स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रमका लागि १ करोड रुपैयाँ छुट्याइएको छ ।

यस्तै, १८ वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक रु. ३ हजार दिने, स्तनपान गराउने आमाहरुका लागि उपप्रमुख दुग्धवर्धक जडिबुटी वितरण कार्यक्रम सञ्चालन, नगरवासीलाई जटिल रोगहरु (मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया) को उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदान दिने कार्यक्रमले निरन्तरता पाएका छन् ।

बजेट प्रस्तुत गरेपछि नगरसभाको बैठक असार १३ गतेसम्मका लागि स्थगित भएको नगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
बजेटपछि संक्षिप्त प्रतिक्रिया दिदै नगर प्रमुख पाण्डेयले यसपटकको बजेटले उज्यालो बुटवल बनाउने, सडकहरुको सौन्दर्यीकरण गर्ने, बसपार्कको सौन्दर्यीकरण गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम र पारामेडिकल शिक्षा शुरु गर्ने, छाडा चौपायाको दीर्घकालीन व्यवस्थापनका लागि गाई राष्टिय निकुञ्ज स्थापनाका लागि प्रदेश सरकार र स्थानीय सरकारहरुसँग पहल गर्ने कार्यक्रम ल्याइएको बताउनुभयो ।

उहाँले यसपटकको बजेटले बुटवलको मुहार बदल्ने विश्वास गरिएको र यसले जनतासँग जोडिएका विषयहरुलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै शैक्षिक सुधार तथा स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सुधार तथा जनशक्ति उत्पादनमा जोड दिइएको बताउनुभयो ।

सम्बन्धित शिर्षक :