३ करोड जनताको जिउ ज्यान हेरेर काम गर्नुस् :स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ३ करोड जनताको जिउ ज्यानलाई ध्यानमा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मातहतका ५ वटै महाशाखाका कर्मचारीलाई मन्त्री बस्नेतले अरु मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयको काम संवेदनशील भएकाले जनताको जिउ ज्यानलाई ध्यानमा राखेर नीति योजना बनाउन पर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य मन्त्रालय अहिले आगामी वर्षको बजेटमा जुटेकोले विपन्न जनताले स्वास्थ्य सेवा पाउने ग्यारंटी गर्ने किसिमले बजेटको विनियोजन गर्न मन्त्री बस्नेतले कर्मचारीहरुलाई निर्देशन दिए । कर्मचारीले सफलताका साथ जिम्मेवारी बहन गरे मात्र जनताले सहज उपचार सेवा पाउने र त्यसकै आधारमा मन्त्री पनि सफल हूने बस्नेतले बताए ।

मन्त्रालयका समस्या समाधानका लागि आफूले कर्मचारीहरुलाई आवश्यक पर्ने समय दिन तयार रहेको बताउँदै मन्त्री बस्नेतले मन्त्रालयको कामकाजमा ढिलाइ नहोस् भन्नका लागि आफूले आगन्तुकसँग भेटघाटको समय हरेक दिन साँझ ४ बजेपछि मात्र राख्न लागेको जानकारी दिए । उनले भने, अन्य भेटघाटले काममा बाधा नपरोस् भन्ने हेतुले मैले आगन्तुक भेट्ने समय साँझ ४ बजे पछि राख्दै छु ।

सुर्तीजन्य पदार्थमा करको दायरा बढाएर भए पनि विपन्न जनतालाई स्वास्थ्य उपचार दिनू पर्नेमा उनले जोड दिए । उनले भने, ‘सुर्तीजन्य पदार्थमा कर बढाऔँ र त्यसबाट सङ्कलन भएको रकम वीर अस्पताल लगायतका विपन्नको उपचार हुने अस्पताललाई अनुदान दिऔँ ।’ सुर्तीजन्य पदार्थको करबाट उठ्ने रकम क्यान्सर लगायतका रोगमा मात्र खर्च गर्ने व्यवस्थालाई परिवर्तन गर्न आवश्यक भए प्रधानमन्त्रीसँग सल्लाह गरेर नियम परिवर्तन गर्ने मन्त्री बस्नेतले बताए ।

मन्त्री बस्नेतले मन्त्रालयमा गर्न सकिने सुधारका कामका लागि आफूलाई लागेका सल्लाह लिखित रुपमा दिन आग्रह गरेका छन् । कमिसनका लागि अनावश्यक उपकरण किन्ने र तिनलाई प्रयोग नगरेर थन्क्याउने गलत प्रवृत्ति रहेको बताउँदै मन्त्री बस्नेतले त्यो चलन तत्काल रोक्न कर्मचारीहरुलाई निर्देशन दिए ।

आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयको बजेट करिब ४० प्रतिसतले कटौती हुन लागेको बताउँदै बस्नेतले बजेट बढाउनका लागि आफूले नेतृत्व गर्ने र सबै कर्मचारीले त्यसमा साथ दिनुपर्नेमा जोड दिए ।

सम्बन्धित शिर्षक :