स्वास्थ्य कार्यलय बाँकेको लापरवाहीपूर्ण भण्डारणको कारण भिटामिन ‘ए’ कार्यक्रम स्थगित

स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यलय बाँकेको लापरवाहीपूर्ण भण्डारणको कारण बालबालिकालाई खुवाउने तयारी गरिएको भिटामिन ए कार्यक्रम स्थगित भएको छ।

म्याद सकिएकै महिनामा बाँकेमा बालबालिकालाई खुवाउने तयारी गरिएको भिटामिन ए कार्यक्रम अन्तिम अवस्थामा स्थगित गरिएको हो ।वितरण गरिएको भिटामिन ए को क्याप्सुलको रङ्गमा परिवर्तन आएपछि प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशनमा कार्यक्रम स्थगित गरिएको हो ।

२०२३ अप्रिलमा म्याद समाप्त हुने मिति भएको भिटामिन ए भोली देखि बालबालिकाहरुलाई खुवाइने तयारी गरिएको थियो । स्वास्थ्य कार्यालयले जिल्लाभरीका स्वास्थ्य केन्द्रहरुमा पठाइएको भिटामिन ‘ए’ क्याप्सुलमा केहि दाग जस्तो देखिएको तथा फरक फरक रङ्ग देखिएपछि स्वास्थ्य स्वयमसेविकाहरुले प्रदेश स्वास्थ्य निर्देशनालयमा खबर गरेका थिए । खबर आए लगत्तै निर्देशनालयले कार्यक्रम स्थगित गर्न निर्देशन दिएको बताइएको छ ।

बालबालिकालाई खुवाइने भिटामिन ए जस्तो संबेदनशिल भ्याक्सिन नेपालगन्जको चर्को घाममा भण्डारण गरिएका कारण ड्यामेज भएको स्रोतले दाबी गरेको छ । गोदाम र निश्चित तापक्रममा राखिनुपर्ने भिटामिन क्याप्सुल केहीदिन देखि गोदाम बाहिर खुल्ला घाममा राखिएको स्रोतको दाबी छ ।

सामान्यतया म्याद सकिएको महिनाको औषधी प्रयोगमा नल्याउने परम्परा बिपरित स्वास्थ्य कार्यालयले म्याद सकिएको महिनामा भिटामिन खुवाउने तयारी गरेको एक स्वास्थ्यकर्मीले बताए । खोपको म्याद पनि चालु महिना सम्म मात्र रहेकाले म्याद नाघेको पनि हुन सक्ने अनुमान उनले गरे ।

बुधबारबाट खुवाउने तयारी गरिएको भिटामिन ए अव कहिले खुवाउने भन्ने मिति तय भएको छैन । घटना सम्बन्धमा बुझ्न प्रयास कार्यालय प्रमुखको मोबाइल नउठेपछि सफल हुन सकेन ।

स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रामजनम कुर्मीले वितरण गरिएको भिटामिन ए को क्याप्सुलको रङ्गमा परिवर्तन आएकोले नखुवाउन र सबै स्वास्थ्य कार्यलय बाँकेमा भन्डार गर्न आग्रह गरेका छन र प्रदेश आपुर्ति केन्द्रबाट नयाँ आएपछि खुवाउन आग्रह गरेका छन।

सम्बन्धित शिर्षक :