स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखला भव्यताका साथ मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट सुरु भएको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियान निरन्तर सञ्चालनमा रहेको छ । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ ।
वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् । सम्भवः निरन्तर सञ्चालनमा रहेको तिलोत्तमाको यो सरसफाई अभियान उत्पत्याका बाहिरको पहिलो हो । निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ ।
चैत्र १ गते पुग्ने एक सयौं श्रृंखलालाई भव्यताका साथ मनाउन फागुन २५ गतेबाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएको बुधबार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिनुभयो ।
सरसफाईलाई नगरबासीको जीवन पद्धतिसँग जोडेर यसलाई दीगो बनाउने तर्फ नगरपालिका अग्रसर रहेको उहाँले बताउनुभयो । सप्ताहव्यापी कार्यक्रमअन्र्तगत् जनचेतना अभिवृद्धिका लागि माईकिङ, बहस, वक्तृत्वकला प्रतियोगिता, नगरस्तरीय सरसरसफाई, रक्तदान, विद्यालय सरसफाई, कम्पोष्टविन वितरणलगायतका काम आयोजना गरिएको छ ।
२७ गते नगरस्तरीय सरसफाई, रक्तदान, ३० गते मानव साङ्लोसहितको सिक्सलेन सफाई र चैत्र १ गते एक सयौं श्रृखंलाको स्मारक समुद्घाटन, झाँकी प्रदर्शन तथा सम्मान कार्यक्रम र नो हर्न नगरपालिका घोषणा कार्यक्रम तय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका, वडा कार्यालय र टोल विकास संस्थामार्फत् हुने सम्पूर्ण कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन नगरपालिकाले सबै नगरबासीमा आह्वान समेत गरेको छ । सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउँदै आफ्नो घर, आँगन, सडक, व्यवसायिक प्रतिष्ठान, कार्यालय, चोक, टोल, सार्वजनिक स्थानमा सघन सरसफाई गर्नु सम्पूर्ण नगरबासीमा अनुरोध गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो ।
चैत्र १ गतेबाटैं तिलोत्तमामा कुहिने र नकुहिने फोहोर अलग अलग उठाउने कार्यक्रम पनि सुरु हुँदैछ । नगरपालिकाले “ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा” को महाअभियानलाई सफल बनाउन चरणबद्ध रुपमा सरकोकारवालाहरुसँग छलफल गरिसकेको छ ।अभियानलाई थप प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध सबै पक्षका सुझाव संकलन गरिएको हरियाली प्रवद्र्धन तथा सरसफाई व्यवस्थापन तथा कार्यान्वयन समिति संयोजक सुरेन्द्र श्रीले बताउनुभयो ।
नगर क्षेत्रका राजनीतिक दल, खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, शिक्षण संस्था, सुरक्षा निकाय, क्लव, आमा समूह, टोल विकास संस्था, बैंक तथा वित्तीय संस्थासँग अभियानका विषयमा छलफल गरिएको र सम्बद्ध सबैले यो अभियानलाई अझैं प्रभावकारी बनाउँदै सप्ताहव्यापी कार्यक्रममा व्यापक सहभागिताको प्रतिबद्धता जनाएको नगरपालिकाले जनाएको छ ।
पत्रकार अन्तरक्रिया कार्यक्रममा विभिन्न सञ्चारकर्मीहरुका साथैं प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललगायतले बोल्नुभएको थियो ।
प्रतिकया दिनुहोस्