डा .रुइतलाई १० लाख डलरको इसा अवार्ड

अन्तर्राष्ट्रिय क्षेत्रमा खस्किँदो नेपालको आत्मसम्मानलाई यसले मनोबल दिनेछ: डा रुइत

स्वास्थ्यसमाचार/ नेत्र चिकित्सक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा। रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो ।

मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा राजाका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य शेख मो बिन मुबारक अल खालिफाले डा। रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि उनलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिए ।

डा रुइतले मोतियाबिन्दु भएका बिरामीको उपचार गर्ने सरल विधि विकास गरेका थिए । साथै इन्ट्राअकुलर लेन्सको विकास गरी सुलभ दरमा उपलब्ध गराएका थिए । त्यसबाट नेपाललगायत विकासोन्मुख देशका अन्धोपन भएका लाखौं व्यक्तिले नेत्रज्योति प्राप्त गरेका छन् । डा रुइतले पहल नगरेको भए ती मानिसहरूले सम्भवत संसार देख्न पाउने थिएनन् ।

इसा अवार्ड घोषणापछि डा रुइतले आफूले अहिलेसम्म पाएका पुरस्कारमध्ये सबैभन्दा ठूलो पुरस्कार यो भएको बताए । ‘मेरो सम्पूर्ण जीवनको तपस्याको परिणाम हो । म सँधै एकाग्र भएर आफ्नो काममा तल्लिन रहँदै आएको छु । मेरो जिन्दगीका विभिन्न उतारचढावबारे मलाई मात्रै छ । त्यसको बावजुद म यो ठाउँमा पुगेको छु । मैले जिन्दगीमा धेरै अवरोधहरू सहेको छु र धरै सान्त्वना तथा पुरस्कार पनि पाएको छु ।

यी दुवै कुराले मलाई अगाडि लैजान्छन्,’ डा रुइतले भने, ‘इसा अवार्ड अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार हो । हाम्रो अभियानलाई विश्वव्यापी बनाउन यो अवार्डले मद्दत गर्नेछ । अन्तर्राष्ट्रिय क्षेत्रमा खस्किँदो नेपालको आत्मसम्मानलाई यसले मनोबल दिनेछ । सम्पूर्ण नेपालीको आत्मसम्मान र मनोबलका लागि म अन्तर्राष्ट्रिय क्षेत्रमा लागिरहनेछु । त्यसमा लाग्ने टेवा यसले दिनेछ । ’

मंगलबार डा रुइतका नाममा घोषणा भएको इसा अवार्ड अहिलेसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सम्भवतः सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अवार्ड हो ।

सम्बन्धित शिर्षक :