बाँकेमा महामारीको रुप लिदै दादुरा :एक बालकको मृत्यु, दर्जनौ विरामी

बाँके । बाँकेमा दादुराले महामारीको रुप लिदै गरेकोमा स्वास्थ्यकर्मिहरु चिन्चित बनेका छन । दादुराकै कारण ३१ महिने बालकको बुधवार मृत्यु भएसगै दर्जनौ दादुराको विरामी रहेका बालबालिका जोखिममा रहेको स्वास्थ्यकर्मिहरुले बताएका छन ।

दादुराले विरामी भएका नेपालगञ्ज उपमहानगरपालिका(५ का ३१ महिने बालकको बुधवार मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले  बताउनु भयो । उहाँकाअनुसार सिकिस्त रहेका ति बालकको थप उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

बाँकेमा पछिल्लो पटक दादुरा महामारीको रुपमा फैलिरहेको पाइएको छ । केहि दिनपहिले सम्म नेपालगञ्ज उपमहानगरपालिका(५,७ र ८ मा मात्र देखिएको दादुराले हाल आएर १०, ११, १५ र २२ नन्बर वडाहरुमा पनि देखिएको श्रेष्ठले बताउनु भयो । सुरुमा देखिएको दादुरलाई स्याम्पल परिक्षणका लागी काठमाण्डौं पठाइएको त्यहाँबाट दादुरा भएको पुष्टि भएसगै दादुरा अन्य वडाहरुमा पनि फैलिएको उहाँले बताउनु भयो ।

नेपालगञ्ज उपमहानगरपालिका संग समन्वय गरी नेपालगञ्ज उपमहानगरपालिका र आसपासका पालिकाहरुमा विरामी खोज्ने, चेक जाँच गर्ने काम तत्कालै सुरु गर्न लागिएको श्रेष्ठले जानकारी दिनु भयो । साथै उहाँले ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई दादुरा विरुद्धको खोप संचालनगर्ने तयारी पनि चलिरहेको बताउनु भयो ।

यता नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले एउटै घरका चार जना बालबालिकाहरुमा दादुरा देखिएको हुँदा प्रभावित क्षेत्रहरुमा थप विरामी खोज्ने काम भैरहेको बताउनु भयो । अहिले ति प्रभावित वडाहरुमा करिब ३ दर्जनको हाराहारीमा बालबालिका दादुराका कारण विरामी परेको उहाँले बताउनु भयो ।

अहिले नेपालगञ्ज उपमहानगरपालिकाका ५, ७, ८, १०, ११, १५, र २२ गरी ७ वटा वडाहरु प्रभावित बनेका छन । ति क्षेत्रहरुमा तत्कालै विरामीको थप उपचार र नयाँ विरामीको खोज अभियान चलिरहेको बताइएको छ ।

दादुराको लक्षण देखिएका विरामी भेटिएको लामो समय सम्म चुप लागेर बसेको स्वास्थ्य कार्यालय र उपमहानगरपालिकाको स्वास्थ्य शाखाले ३१ महिने बालकको मृत्यु भएसगै चासो देखाएको स्थानियवासी वसिम हलवाईले बताउनु भयो । ज्वरो आउने , शरिरका विभिन्न भागमा राता राता बिबिरा आउने जस्ता लक्षण देखा परेको नेपालगञ्ज फुल्टेग्राका नसिम अहमदले बताउनु भयो । दादुराको विरामी देखिएकाहरुमा दादुरा विरुद्धको खोप नलगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

एउटा टोल वस्तीमा ५ जना सम्म दादुराका विरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ । सरकारले सन २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित शिर्षक :