जापनिज इन्सेफ्लाइटिसका कारण एकको मृत्यु

स्वास्थ्यसमाचार/ चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण एक जनाको मृत्यु भएको छ । सङ्क्रमितको मृत्यु भएपछि स्वास्थ्य कार्यालय चितवनले सङ्क्रमितको खोजी सुरु गरेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार मृत्यु हुनेमा उपचार गरेर घर फर्किएका माडी नगरपालिका –१ चैनपुरका ६० वर्षीया महिला हुनुहुन्छ । उहाँको उपचार गरेर घर फर्केपछि मृत्यु भएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन २० गते यता शङ्कास्पद २२ जनाको परीक्षणमा नौ जनामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको थियो ।

मृतक महिला भदौ ६ गते टाउको दुख्ने र ज्वरो आउने समस्या लिएर उपचारका लागि भरतपुर अस्पताल आउनु भएको थियो । जाँच गर्दा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको थियो । सङ्क्रमित नौ जनामध्ये माडीकै अर्का एक ७५ वर्षीया महिलासँग स्वास्थ्य कार्यालयको सम्पर्क टुटेको छ । कार्यालय प्रमुख चापागाईँले उहाँको खोजी भइरहेको बताउनुभयो ।

सङ्क्रमितमध्ये चार जना भरतपुर महानगरपालिकाका हुनुहुन्छ । तीमध्ये भरतपुर २२ का एक पुरुष पनि हुनुहुन्थ्यो । ५२ वर्षका उहाँमा बिर्सने समस्या सुरु भएको बताइन्छ । सोही वडाका एक महिला र वडा १९ का ७० वर्षे एक पुरुष अझै सम्पर्कमा नआएको उहाँको भनाई छ ।

राप्तीका ३५ वर्षीया महिला उपचारपछि घर फर्किनुभएको छ । उहाँको स्मरण शक्ति कमजोर देखिएको अस्पताल स्रोतको भनाई छ । कालिका नगरपालिकाका एक जना ३२ वर्षीय पुरुष अस्पतालबाट निको भएर घर फर्किनुभएको छ ।

रत्ननगरका २९ वर्षका एक महिलाको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ । उहाँलाई भेन्टिलेटरमा राखिएको छ । जापनिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएपछि यतिवेला रक्तपरीक्षण गरेको र सङ्क्रमित भएकाको खोजी कार्य भइरहेको छ । रगतका नमुना सङ्कलन गर्दा ठेगाना प्रष्ट नलेखिएकाले बिरामीको खोजीमा कठिनाइ भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सङ्क्रमित नौ जनामध्ये एकको मृत्यु भएको, एक जना सघन उपचार कक्षमा उपचारमा रहेका भए पनि भरतपुरमा दुई र माडीको एक जना भने सम्पर्कमा आउनुभएको छैन । भरतपुर अस्पतालका प्रवक्ता फिजिसयन डा। गोविन्द कँडेलले सुँगुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने बताउनुभयो । मानिसबाट मानिसमा यो रोग सर्दैन । अहिले जिल्लामा ग्रामीण क्षेत्रमा रोग बढी देखिएको चिकित्सकको भनाई छ ।

रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगझैँ शरीरमा कम्पन आउने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक :