लुम्बिनी प्रदेश भित्र चल्ने १२० एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान

स्वास्थ्य सेवामा पहुँच विस्तारको लागि सरकारको तर्फबाट धेरै प्रयास भईरहेको छ :स्वास्थ्यमन्त्री चौधरी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्र चल्ने १२० वटा एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान गरिदिएको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले आकस्मिक विरामीलाई समयमै एम्बुलेन्स उपलब्ध गराउन एम्बुलेन्समा ट्रयाकिङ सिष्टम जडान गरिएको मन्त्री ईन्द्रजित थारुले वताए।

मन्त्रालयले बिहिबार बुटवलमा मन्त्रालयको वार्षिक प्रगति जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थारुले एम्बुलेन्स ट्रयाकिङका लागि ‘एम्बुलेन्स नेपाल’ नामको मोवाईल एप र निःशुल्क फोन कल मार्फत एम्बुलेन्स सेवा प्रदान गर्न १०२ नम्बरको फोन सहितको प्रादेशिक प्रेशण केन्द्र स्थापना गरिएको वताए।

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले दिएको वार्षिक प्रगति विवरण अनुसार लुम्बिनी प्रदेश सरकारले लक्षित जनसंख्याको ९५ प्रतिशतलाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिईएको छ । त्यस्तै ८९ प्रतिशतलाई दोस्रो मात्रा र ३९ प्रतिशतलाई बुष्टर डोज प्रदान गरिएको छ ।

पत्रकार सम्मेलनमा मन्त्री थारुले पछिल्लो समयमा सरकारी अस्पतालहरुमा विरामीको आकर्षण बढ्दै गएको पनि समेत बताए।आम नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नको लागि सरकारको तर्फबाट धेरै प्रयास भईरहेको बताउँदै स्थानीय जडिबुटीहरुको प्रयोग गरेर आयुर्वेदिक औषधी उत्पादन गर्नको लागि दाङको विजौरीमा तयारी गरिएको र आगामी आर्थिक वर्षभित्र सञ्चालनमा आउने वताए।

स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले पत्रकार सम्मेलनमा २५ बुँदे वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । प्रदेश विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम मार्फत मुटुको भल्व फेर्ने, मृगौला प्रत्यारोपण र क्यान्सर रोग उपचारको लागि २७८ जनालाई सहुलियत प्रदान गरिएको छ । उनीहरुलाई प्रतिव्यक्ति २ लाख रुपैंया प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसका लागि मन्त्रालयले ६ वटा सेवा प्रदायक अस्पतालहरुसंग सम्झौता गरिएको मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले वताए।त्यस्तै विपन्न नागरिकका लागि दम तथा ब्रोङ्काईटिस उपचार सुविधा मार्फत चालु आर्थिक वर्षमा १ हजार ४७३ जनालाई सेवा प्रदान गरिएको छ । यो कार्यक्रममा प्रतिव्यक्ति वार्षिक ५० हजार रुपैंया उपलब्ध गराईन्छ ।

तराईका ६ जिल्ला बाँके, बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देही र नवलपरासी पश्चिममा रहेका स्वास्थ्य कार्यालयहरु मार्फत थारु समुदायमा सिकलसेल तथा थालेसेमिया रोगको स्क्रिनिङ, निदान, उपचार परामर्श र रोकथामका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको र ती जिल्लामा रहेका ८ वटा अस्पतालमा सिकलसेल परामर्श केन्द्र स्थापना गरि सञ्चालन गरिएको डा पौडेलले बताए।

त्यस्तै प्रदेशका मुख्य तीन वटा नाकामा कोभिड लगायतका संक्रमित रोगहरुको निगरानीको लागि हेल्थ डेस्क सञ्चालन गरिएको, प्रदेशका सबै जिल्ला अस्पताल हरुलाई ५० शैयामा स्तरोन्नती गरिएको छ ।पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रदेशको स्वास्थ्य सेवामा विशेषज्ञ चिकित्सकको अभाव, कोभिड, आवश्यक जनशक्तिको अभाव लगायतका कारण अपेक्षकृत कार्यप्रगति हासिल गर्न नसकिएको वताए । उनले उद्यपी स्वास्थ्य सुधारमा पोजिटिभ ईन्डिकेटर (सकारात्मक सूचक)हरु बढाउन मन्त्रालयको टिम लागि परेको वताए।

सम्बन्धित शिर्षक :