स्वास्थ्य बीमामा २० अर्ब बढी खर्च, स्थायी संरचना नबन्दा कार्यक्रम प्रभावकारी बन्न सकेन

सफलता भन्डारी

काठमान्डौ/ नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको ६ वर्ष पूरा भएको छ । सरकारले २०७२ साल चैत २५ गतेदेखि कैलाली जिल्लाबाट औपचारिक रुपमा सदस्यता दर्ता गर्दै स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको थियो ।

स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म ७७ जिल्ला तथा ७ सय ४५ स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ । जसमा ५३ हजारभन्दा बढी स्वास्थ्य बीमामा आवद्ध छन् । नेपालको संविधान २०७२ को धारा ९५१० ९ज० १५ मा राज्यका नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था सुनिश्चित गरेको छ । स्वास्थ्य बीमा ऐन,२०७४ र नियमावली २०७५ अनुसार गुणस्तरीय,प्रभावकारी र सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपबल्ध गराउने र आर्थिक जोखिमको न्यून गर्ने राज्यको प्रतिबद्धता छ ।

गरीब,विपन्न एवं सुगम क्षेत्रमा समेत पहुँच पुर्याउने उदेश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपनि उदेश्य अनुसार काम भने हुन सकेको छैन् । स्वास्थ्य बीमा गरेका बीमितहरूले गुणस्तरी सेवा पाउन नसकेको भन्दै पटक पटक गुनासो गरेको देखिन्छ भने सेवा प्रदान गरिरहेका अस्पतालहरूमा व्यवस्थापन राम्रो हुन सकेको छैन् ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौला स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको ६ वर्ष पुगेपनी जनशक्तिको अभावमा सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नसकेको बताउँछन् ।बसौलाले गुणस्तरीय सेवा दिन खोज्दाखोज्दै पनि जनशक्ति अभावले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नसकेको बताए ।

स्वास्थ्य बीमाको पहुँचमा कति छन् ?

बोर्डका अनुसार हालसम्म ५३ लाख ४ हजार २ सय ७० जना स्वास्थ्य बीमामा आवद्ध भएका छन् । त्यस्तै १५ लाख ८ हजार ५ सय १४ कूल बीमित परिवार रहेका छन् । कूल बीमितमध्ये २० लाख ८९ हजार ५ सय ९९ जनाले सेवा लिएको बोर्डले जनाएको छ ।

त्यस्तै कुल बीमित मध्ये अति गरिब परिवारको बीमित सदस्य सङ्ख्या ४ लाख ८८ हजार ४, ज्येष्ठ नागरिक परिवारको बीमित सदस्य सङ्ख्या ६ लाख ३४ हजार ७ सय ३५, एचआईभी सङ्क्रमित परिवार बीमित सदस्य सङ्ख्या २५ हजार २ सय ८९ रहेको छ । त्यस्तै अति अशक्त अपाङ्गता भएका परिवारको बीमित सदस्य सङ्ख्या ९३ हजार ६ सय २९, कुष्ठरोग सङ्क्रमितको परिवारको बीमित सदस्य संङ्ख्या २ हजार ८ सय ४९, एमडिआर क्षयरोगी परिवारको बीमित सदस्य सङ्ख्या २ हजार ४ सय ७४ र महिला स्वास्थ्य स्वयंसेविका परिवारको बीमित सदस्य सङ्ख्या ८३ हजार ६ सय २६ रहेको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमामा सरकारको खर्च कति ?

स्वास्थ्य बीमा बोर्डका अनुसार २०७१र७२ देखि २०७७र७८ सम्म सरकारले २० अरब ५९ करोड ८० लाख ३ हजार खर्च गरेको छ । त्यस्तै स्वास्थ्य बीमा गर्ने बीमितहरूबाट ६ अरब ५६ करोड ७९ लाख ८१ हजार २ सय ९१ रुपैया सङ्कलन भएको छ । बोर्डले फागुन मसान्तसम्म १ खरब ६७ अरब ९६ करोड ८८ लाख ६ हजार ४ सय ८६ रुपैयाँ ८५ पैसा कुल भुक्तानी गरेको छ । त्यस्तै बोर्डमा २ खर्ब ४२ अरब ५१ करोड ८५ लाख ५९ हजार ४ सय ५६ रुपैया ६३ पैसा भुक्तानी दाबी आएको छ ।

बीमा बोर्डको स्थायी संरचना नहुँदा सेवा प्रदानमा समस्या

बोर्डका कार्यकारी निर्देशक बसौंला बोर्डको स्थायी संरचना नहुँदा काम गर्न समस्या भएको बताउँछन् । बर्तौला भन्छन्, हामीसँग जनशक्तिको अभाव छ,स्थायी संरचना निर्माण हुन सकेको छैन् । हामीले त्यसका लागि प्रक्रियामा गरिरहेका छौं यदि स्थायी संरचना निर्माण हुने हो भने काम गर्न सहज हुन्छ ।

त्यस्तै उनले काम गर्ने कर्मचारीहरू नहुँदा अस्पतालहरूलाई समयमा नै भुक्तानी दिन नसकेको पनि बताए । सेवा विस्तार धेरै भएको तर बोर्डमा काम गर्ने कर्मचारी नहुँदा गुणस्तरीय सेवा दिन नसकेको उनको भनाइ छ । त्यस्तै उनले पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रमलाई स्थानीय सरकारसँग समन्वय गर्दै अगाडि बढाइरहेको पनि बताए । स्थानीय सरकारलाई अपन्वत गर्नतर्फ बोर्ड लागेको उनको भनाइ छ ।

 

सम्बन्धित शिर्षक :