रुपन्देहीमा टाइफाइड विरुद्धको खोप दुई चरणमा लगाईने

पहिलो चरण १२पालिकामा चैत २२ देखि २७ र दोश्रो चरण ४ पालिका वैशाख ६ देखि १४ गतेसम्म हुने

स्वास्थ्यसमाचार/ रुपन्देहीमा टाइफाइड विरुद्धको खोप दुई चरमा सुरु हुने भएको छ ।पहिलो चरण अन्तर्गत चैत २२ देखि २७ गतेसम्म बुटवल उपमहानगर पालि का, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर, देवदह, सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, शुद्धोधन, मायादेवी, कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए ।

त्यस्तै दोस्रो चरण अन्तर्गत वैशाख ६ गतेदेखि १४ गतेसम्म तिलोत्तमा नगरपालिका, ओमसतिया, रोहिणी र सियारी गाउँपालिकामा अभियान सञ्चालन गरिने शर्माले जानकारी दिए ।अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई खोप लगाइनेछ ।

देशैभर एकै चरणमा चैत २३ गतेदेखि अभियान सुरु भए पनि रुपन्देहीमा चैत २२ गतेदेखि सुरु हुने उनले जानकारी दिए । स्थानीय तहको निर्वाचन, वैशाख महिना विद्यालयको शैक्षिक सत्रको अन्त्य हुने महिना भएको, एसईई परीक्षा २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म हुने, जेठ महिनापछि कार्यक्रम सञ्चालन गर्न वर्षायामको कारणले कठिनाइ हुने कारणले वैशाख १८ भित्र सम्पन्न गर्नुपर्ने शर्माले बताए ।

रुपन्देहीमा २ लाख ६६ हजार ५ सय १८ जना खोप लगाउनुपर्ने लक्षित जनसंख्या रहेको बताए । स्वास्थ्य कार्यालय रुपन्देहीले आइतबार गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै कार्यालयका खोप अधिकृत शर्माले जिल्लामा खोप केन्द्र संख्या ९६६, खोप दिने स्वास्थ्यकर्मीको संख्या १ हजार ३ सय ३३, स्वयंसेवक २ हजार ४ सय ६८, शिक्षक ९६६, शिक्षिका ९६६, स्थानीय सुपरीवेक्षक १५८, जिल्ला सुपरीवेक्षक ११ र सहयोगी संघ–संस्था ६ जना रहने बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले जिल्लामा खोप अभियान प्रभावकारी रुपमा सञ्चालन भएको बताए । केही चुनौती भए पनि सबै मिलेर टाइफाइड रोगविरुद्धको खोप अभियान सफल पार्ने बताए । उनले स्थानीय तहसँग समन्वय गरेर अगाडी बढ्ने बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले टाइफाइडविरुद्धको खोप अभियानमा १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई खोप लगाइने बताए । उनले यो अभियान सफल पार्न स्थानीय तह, शिक्षकशिक्षिका, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी लगायत सबैको भूमिका महत्वपूर्ण रहने बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले स्वास्थ्य कार्यालयको भूमिका राम्रो र प्रभावकारी रहेको बताए । उनले टाइफाइडविरुद्धको खोपलाई अभियानकै रुपमा सञ्चालन गरिने बताए ।

सम्बन्धित शिर्षक :