बर्ड फ्लू फैलिएपछि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी

स्वास्थ्यसमाचार/पशु सेवा विभागले कुखुरामा देखिने सङ्क्रामक रोग बर्ड फ्लू नियन्त्रणका लागि ४ प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी गरेको छ ।

विभागले सङ्क्रमण बढेपछि प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा पोल्ट्री निषेधाज्ञाको तयारी गरेको हो । भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला ले सोमवार काठमाडौंमा गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देश डा राम नन्दन तिवारीले बर्ड फ्लू सङ्क्रमण नियन्त्रणबाहिर गएको बताए ।

उनले गत माघदेखि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा बर्ड फ्लूको सङ्क्रमण बढ्दै गएको र पछिल्लो समय नियन्त्रण बाहिर रहेको पनि जानकारी गराए । हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स, टर्की, काग, प्यारेन्ट कालिज र लौकाटमा फ्लू पुष्टि भएको छ ।

देशका मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा ,मकवानपुर, धनुषा र बारामा बर्ड फ्लू सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएको उनले बताए ।

पोल्ट्री व्यवसायीले समयमा नै विभागको सल्लाह मानेर पोल्ट्री लकडाउन जानुको विकल्प नभएको पनि डा.तिवारीले प्रष्ट पारे । बर्ड फ्लूका कारण मानिसको मृत्यु हुन सक्ने भएकाले सरकारले कडाई गरेको हो ।

सम्बन्धित शिर्षक :