मिसन अस्पतालद्धारा स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा

युनाइटेड मिशन अस्पतालले स्वास्थ्य बीमाका बिरामीको निशुल्क उपचार नगर्ने भएको छ । उपचार गरेवापत पाउनुपर्ने रकमको ठूलो हिस्सा स्वास्थ्य बीमा बोर्डले सोधभर्ना नगरेको भन्दै अस्पतालले आगामी सोमबारबाट बीमा अन्तरगर्त उपचारका लागि आउने बिरामीसंग छुट्टै पैसा लिने जनाएको हो ।

अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले ६८ वर्षको मिसन अस्पतालको इतिहासमै सबैभन्दा अफ्टेरो अवस्थामा पुगेको भन्दै धानिनै नसक्ने अवस्था भएपछि यस्तो कदम चालिएको बताए । उनले १२ करोड ७ लाख ३७ हजार ५ सय ८७ बक्यौता रकम लिन बाँकी रहेको जानकारी दिए ।

अस्पतालकी निर्देशक डा। रचेल कारखले हाल सम्मको बक्यौता रकमको भुक्तानी, खर्च अनुसारको मूल्य समायोजन, दाबी रकम भुक्तानी १५ दिनभित्र नभएमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने बताइन् । उनले चैत २१ गतेदेखी लागु हुने गरि स्वास्थ्य बीमा बोर्डबाट सोधभर्ना नहुने बराबरको रकम बिरामीबाट नगद भुक्तानी लिने समेत पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

सरकारले पैसा नदिँदा कर्मचारीलाइ नियमित तलब खुवाउन, औषधि खरीद गर्न तथा अन्य प्रशासनिक कार्य गर्न नै नसकिने अवस्थामा पुगेको मिशन अस्पतालले जनाएको छ ।

प्रशासकीय अधिकृत भट्टराईले जिल्लाका सरोकारवालाहरूसंग यसबारेमा पटक पटक छलफल भएको, बीमा बोर्डलाई पटक पटक ध्यानाकर्षण गराईएको तर सुनुवाई नभएपछि सेवा बन्द गर्ने अवस्थामा पुगेको बताए । उनी भन्छन्, ‘हामी बीमा भन्दा बाहिरका सेवाहरू पनि बन्द गर्नु नपरोस् भनेर नै पूर्व सचेत रहेर यो निर्णय लिन बाध्य भएका हौँ । राज्यले हाम्रो यो बाध्यतालाई गम्भीरतापूर्वक सोचोस ।’

६८ वर्ष अघि स्थापित मिसन अस्पताल पश्चिम नेपालकै उत्कृष्ठ अस्पतालको रुपमा लामो समय विरासत थामेको थियो । अहिले पनि पाल्पा गुल्मी, स्याङजा, रुपन्देही लगायत लुम्बिनी प्रदेश मात्रै नभई छिमेकी भारतबाट समेत त्यस अस्पतालमा उपचारका लागि विरामी आउने गर्दछन् ।

मिसनले २०७४ साल देखि स्वास्थ्य बीमा बोर्डसंग सम्झौँता गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

सम्बन्धित शिर्षक :