गुल्मीमा अक्सिजन प्लान्ट पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीद्धारा उद्घाटन

स्वास्थ्यसमाचार/गुल्मीमा अक्सिजन प्लाण्ट उद्घाटन गरिएको छ। पत्रकार महासंघको अभियान र नेपाल सरकारको संयुक्त लगानीमा निर्मित प्लाण्टको पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बिहीबार उद्घाटन गरेका हुन्।

सो अवसरमा उपमहासचिव ज्ञवालीले तत्कालिन केपी ओली नेतृत्वको सरकारले देशमा स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण, स्वास्थ्य बिमा र सरकारी मेडिकल संचालन गरेर जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण कामहरु गरेको बताए। तिव्र कोभिड संक्रमण र अक्सिजनको अभाव भइरहेका बेला पत्रकार महासंघ गुल्मीले अभियान संचालन गरी सरकारी क्षेत्रसंगको समन्वयमा प्लाण्ट संचालन गरेर देशमै उदाहरणीय काम गरेको ज्ञवालीले बताए।

जिल्लामा कोभिड/१९ को कारण अक्सिजन अभावले बिरामीको ज्यान जान थालेपछि ०७८ बैशाख अन्तिम साताबाट पत्रकार महासंघ गुल्मीले ‘अक्सिजन प्लाण्ट अभियान’बाट प्लान्ट निर्माण भएको हो।

प्लाण्ट निर्माणमा त्रिपक्षीय सहयोग

अक्सिजन प्लाण्टको पूरा व्यवस्थापनमा त्रिपक्षीय सहयोग रहेको छ। प्लाण्ट निर्माणका लागि ‘अक्सिजन प्लान्ट अभियान’बाट संकलित ५० लाख पत्रकार महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो। तत्कालिन परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको पहलमा नेपाल सरकारबाट एक करोड बिनियोजन भयो। सरकार र पत्रकार महासंघको अभियानबाट संकलित एक करोड ५० लाखको ठेक्का सम्झौतामार्फत फेयर टे«ड काठमाडौंले प्लाण्ट निर्माण गरेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए।

अहिले यहाँबाट दैनिक ९६ सिलिण्डर ग्याँस उत्पादन भइरहेको छ। त्यस्तै गुल्मी उद्योग बाणिज्य संघले करिव १८ लाखको लागतमा अक्सिजन प्लाण्ट राख्नको लागि भवन निर्माण गरेको छ।

५० प्रतिशत सस्तोमा अक्सिजन बिक्री

अब गुल्मी अस्पतालसंगै जिल्लाका अन्य स्वास्थ्य संस्था र घरमै आवश्यक पर्ने बिरामीहरुले पनि सहज रुपमा अक्सिजन पाउने छन्। अस्पतालले अहिले ठूलो सिलिण्डर १२ सय, मझौला एक हजार र सानालाई पाँच सय रुपैयाँमा अक्सिजन भरिरहेको छ।

दैनिक १० सिलिण्डर अक्सिजन गुल्मी अस्पतालमै खपत हुन्छ। गुल्मी अस्पतालको निर्माणाधिन अत्याधुनिक भवन र पालिकास्तरमा बन्न लागेका १५ शय्याका अस्पतालका लागि पनि प्लाण्ट उपयोगी हुने गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले बताए। ‘गुल्मीमा स्वास्थ्य क्षेत्रमा केहि आशाहरु बढेका छन्। कोभिडका कारण प्लाण्टलगायतका महत्वपूर्ण संरचना बनेका छन्,’ उनले भने, ‘जनशक्ति व्यवस्थापन र दीर्घकालिन संचालनमा चनाखो बन्नुपर्छ।’

पत्रकारको अभियानमा उत्साहपूर्ण सहयोग

गत साल ८४ वर्ष पुगेका रेसुंगा नगरपालिका–८ का रुद्रबहादुर भुजेलले कोरोना महामारीका कारण चौरासी गर्न पाएनन्। उनले चौरासी बापतको नगद १० हजार अक्सिजन प्लान्ट अभियानलाई सहयोग गरे। निमा केसी सापकोटाले आमाको सम्झनामा २१ हजार १२१ रुपैयाँ अभियानमा सहयोग गरिन्। प्लाण्ट निर्माणमा बिपन्नदेखि सम्पन्न परिवारले सबैले सहयोग गरेका छन्। जसका कारण अब जिल्लामा अक्सिजनको लागि कुनै समस्या झेल्नुपर्ने स्थिती नरहेको अभियानका संयोजक तथा पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष जर्नादन घिमिरेले बताए।

अभियानमा स्वदेश तथा परदेशबाट करिव आठ सय व्यक्ति तथा संघसंस्थाले सहयोग गरेका छन्। पत्रकार महासंघको समन्यवमा प्लाण्ट निर्माणसंगै जिल्लाका सवै पालिकाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री वितरण गरिएको थियो।

गुल्मी अस्पतालमा मात्रै चार करोड बढीका संरचना निर्माण

कोभिड–१९ ले जिल्लाभित्र र बाहिर गरी गुल्मीका दुई सय ८७ जनाले ज्यान गुमाए। करिव सात हजार संक्रमित भए। कोभिडले दुस्प्रभावसँगै अवसर पनि सिर्जना गरेको छ। कोभिड–१९ ले माक्स लगाउने, सावुनपानीले हात धुने, सामाजिक दुरी कायम गर्ने लगायतका आनीबानीमा परिवर्तन त ल्यायो नै। यसबाहेक गुल्मी अस्पतालसहित स्थानीय तहमा करिव १० करोडका स्वास्थ्य संरचना निर्माण भएका छन्। गुल्मी अस्पतालमा करिव डेड करोडको अक्सिजन प्लाण्ट निर्माण भे छ।

त्यस्तै डेढ करोडको लागतमा गुल्मी अस्पतालमा आइसियू निर्माण भइरहेको छ भने ६४ लाखको लागतमा एचडियु संचालनमा छ। अक्सिजन प्लाण्ट, आइसियू र एचडियू निर्माण तथा संचालनले जिल्लाको स्वास्थ्य क्षेत्रमा नयाँ आशा पलाएको छ। गुल्मी अस्पतालमै २० वटा अक्सिजन कन्सनट्रेटर मेसिन र १३० अक्सिजन सिलिण्डर सहयोग प्राप्त भए। यी सवै कोभिड–१९ का कारण प्राप्त उपलब्धि हुन्।

प्रयोगशालादेखि गाउँगाउँमा संरचना विकास

जिल्लाका सवै स्थानीय तहहरुको समन्वय र सहयोगमा करिव डेढ करोडको लागतमा कोभिड–१९ परीक्षण प्रयोगशाला निर्माण गरिएको छ। इस्मा गाउँपालिकाले कोभिडकै कारण ३५ लाख बढी खर्च गरेर एक्स–रे मेसिन खरिद गरी संचालनमा ल्याएको छ। अस्पतालले मेडिकल अधिकृतको व्यवस्था गरेर कोभिडका बिरामीको उपचार र व्यवस्थामा निकै महत्वपूर्ण काम ग¥यो। कोभिड अस्पतालमा चार थान अक्सिजन कन्सन्ट्रेटर र २२ थान सिलिन्डर प्राप्त भएका छन्।

कालिगण्डकीमा आठ वटा अक्सिजन कन्सन्ट्रेटर र २१ वटा अक्सिजन सिलिडर छन्। दुई स्टाफ नर्स र कार्यालय सहयोगीको व्यवस्थापन गरेर अस्थायी कोभिड–१९ अस्पताल संचालन गरिएको स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाले जानकारी दिए। मुसिकोट नगरपालिकामा १४ अक्सिजन सिलिण्डर र आठ कन्सनट्रेटर छन्। मेडिकल अधिकृत एक, स्टाफ नर्स एक, हेल्थ असिस्टेण्ट एक र कार्यालय सहयोगी एकजनाको व्यवस्थापन गरेर अस्थायी कोभिड–१९ अस्पताल संचालन गरेको स्वास्थ्य संयोजक ढालबहादुर जिसीले बताए।

यता, गुल्मी दरवार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालका अनुसार गाउँपालिकामा छ/छ वटा अक्सिजन सिलिण्डर र कन्सनट्रेटर छन्। दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीको व्यवस्थापन गरेर १० बेडको कोभिड/१९ अस्पताल संचालनमा ल्याइएको छ। धुर्कोट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालका अनुसार गाउँपालिकामा १३ वटा अक्सिजन कन्सनट्रेटर र १९ वडा अक्सिजन सिलिण्डर रहेका छन्।

छत्रकोट गाउँपालिकाका अनुसार गाउँपालिकामा २९ अक्सिजन सिलिण्डर र १० कन्सनट्रेटर छन् भने एउटा जेनेरेटरको व्यवस्थापन गरिएको छ। रुरु क्षेत्र गाउँपालिकाका अनुसार कोभिड/१९ कै कारण पाँच अक्सिजन कन्सनट्रेटर र १८ अक्सिजन सिलिण्डर गाउँपालिकामा छन्। करिव आठ लाखका अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको गाउँपालिकाले जोहो गरेको छ। जिल्ला स्वास्थ्य कार्यालय गुल्मीमा निमित्त प्रमुख पशुपति आचार्यले कोभिडले समस्यासंगै जिल्लामा सचेतना र पूर्वाधार तथा उपकरणमा ठूलै उपलब्धि भएको बताए।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :