रुपन्देहीमा ८ महिनामा ९ सय ९२ क्षयरोगी फेला २८ जनाको मृत्यु

नियन्त्रणमा खुल्ला सीमा वाधक बन्यो स्वास्थ्य प्रमुख : ढकाल

स्वास्थ्यसमाचार /रुपन्देहीमा आर्थिक वर्ष २०७८/०७९ को ८ महिना ९ सय ९२ जना नँया क्षयरोगी पत्ता लागेका छन । विश्व क्षयरोग दिवस २०७८ को अवसरमा आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराईको हो ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग फोकल प्रशन हुम प्रसाद खनालका अनुसार गत वर्ष जिल्लामा १ हजार २ सय ४१ जना क्षयरोगी फेला परेका थिए । चालु बर्षमा फेला परेका ९ सय ९२ जना मध्ये ६ सय ७ जना पुरुष, ३ सय ८५ जना महिला र ५१ जना बालबालिका रहेका वताए ।

खनालका अनुसार जिल्लामा सबै भन्दा बढी बुटवल उपमहानगरमा २ सय ३४ जना क्षयरोगी रहेको बताए त्यस्तै तिलोत्तमा नगरपालिकामा १ सय ३७ सिद्धार्थनगर नगरपालिकामा ९०, देवदहमा ९३, सैनामैनामा ६५ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ८७ जना क्षयरोगका बिरामी फेला परेको वताए ।

यस्तै ओमसतिया गाउँपालिकामा ३५, रोहिणी गाउँपालिकामा ३८, कन्चनमा ४१, गैडहवामा ३१, शुद्धोधनमा २५, सियारीमा ३२, मायादेवीमा ४८, सम्मरीमाईमा ३८, मर्चवारीमा २३ र सबै भन्दा कम बिरामी कोटहीमाई गाउँपालिकामा १७ जना फेला परेका छन् ।

रुपन्देहीमा क्षयरोगबाट २१ जनाको मृत्यु भएको थियो भने चालु आर्थिक बर्षको ८ महिनामा मृत्यु हुनेको संख्या २८ जना पुगेको खनालले वताए ।क्षयरोगको उपचारको लागी रुपन्देहीमा ९२ वटा डट्स सेन्टर, १४ वटा शहरी डट्स केन्द्र, यस्तै रोग पहिचानको लागी ३२ वटा माईक्रोस्पिक केन्द्र, २ वटा जेनएक्सपर्ट केन्द्र रहेको वताए।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले भने सीमापारीबाट क्षयरोगका बिरामीहरु उपचारको लागी नेपाली स्वास्थ्य चौकीमा नेपालकै ठेगाना लेखाउने र नियमित औषधी समेत सेवन नगर्दा नियन्त्रणमा कठिनाई भएको बताए। उनले समाजमा क्षयरोग बारे जनचेतनामा कमिकोे कारण बिरामीहरु खुलेर चेकजाँचको लागी नआएको बताए।

क्षयरोग पहिचानको लागी किड्स भन्ने सेवा प्रदायक संस्था मार्फत रुपन्देहीका १६ वटै पालिकामा पहिचान केन्द्र राखिएको संस्थाले चेकजाँच गरेको मात्र तथ्यांक सार्वजनिक भएको कारण जिल्लामा क्षयरोगीको संख्या अझै बढ्न सक्ने ढकालको भनाई छ ।

नेपाल सरकारले २०३५ साल सम्ममा प्रति १ लाख जनसंख्यामा १ जना वा सो भन्दा कममा क्षयरोग देखिने र २०५० सम्ममा नेपालबाट क्षयरोग निर्मूल गर्ने लक्ष्य राखेको छ । नेपालमा मृत्युको १० प्रमुख कारक मध्ये क्षयरोग सातौंमा रहेको छ ।

क्षयरोगको सङ्क्रमणः

क्षयरोगका जीवाणु स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गरेपछि सङ्क्रमित व्यक्तिको प्रतिरोधात्मक क्षमता हेरिकन केही महिनादेखि एक वर्षसम्ममा यो रोगका लक्षण देखापर्न थाल्छन् । तर सामान्यतया ६ महिनादेखि एक वर्षसम्मको समयलाई झ्याली समयको रूपमा लिने गरिन्छ । यो रोगका जीवाणुहरूले उत्पादन गर्ने एक प्रकारको विषको कारणले शरीरका कोषहरूको क्षय हुनजान्छ । फलतः रोगका लक्षण देखिन थाल्छन् ।

क्षयरोगको लक्षण

-क्षयरोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको व्याक्टेरियाले संक्रमण भई गम्भीर समस्या निम्त्याउँछ ।

-रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । यो क्षयरोगको संकेत पनि हुनसक्छ ।

-क्षयरोग लागेमा विरामीलाई राती धेरै पसिना आउँछ । मुख सुक्ने गर्छ । खान मन लाग्दैन र तौल अचानक कम हुन थाल्छ ।

-क्षयरोगको संक्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ । सास लिनसमेत समस्या हुने गर्छ । यस्ता लक्षण देखिए तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

-क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ ।

क्षयरोगको रोगका परीक्षण के हो र?
-फोक्सोको क्षयरोग निदान गर्ने सरल र भरपर्दो उपाय भनेको खकार परीक्षण हो । नियमित दुई हप्ताभन्दा बढी समय खोकी लागेमा अनिवार्य रूमा खकार परीक्षण गर्नुपर्छ ।

-त्यस्तै क्षयरोग निदानको लागि एक्स–रे, मण्टुटेष्ट पनि सहायक माध्यम हुन् । रोगको पहिचान गर्न गाह्रो भएमा जिन एक्सपर्ट प्रविधिबाट परीक्षण गराउनु पर्छ । फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग निदानको लागि एफएनएसी, बायोप्सी, कल्चर टेष्ट आदि परीक्षण गर्न सकिन्छ ।

क्षयरोगको रोगका उपचार के हो ?
आराम गर्ने, पोषणयुक्त खाना खाने, मद्यपान र धूमपान नगर्ने, हरियो सागपात, फलफूल, माछा–मासु प्रशस्त खाने, पोषिलो तरल खानाहरू सेवन गर्ने गर्नुपर्दछ । लाक्षणिक उपचार जस्तोः खोकीको लागि औषधि, ज्वरो र दुखाइको लागि औषधिलगायत लक्षणअनुसार उपचार गर्दै लैजानु पर्दछ ।

प्रमुख उपचारमा एन्टी ट्युबरकुलर उपचार एटीटी डट्स विधिद्वारा गर्ने सुविधा स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । यी सबै उपचार तालिमप्राप्त स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गर्नु पर्दछ । पूर्ण उपचार नै क्षयरोगको सही उपचार पनि हो ।

सम्बन्धित शिर्षक :