फाईजर खोप लगाउन रुपन्देहीका स्वास्थ्यकर्मीलाई तालिम

स्वास्थ्यसमाचार /जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले स्वास्थ्यकर्मीलाई  फाईजर खोपको लागि स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको छ ।

यद्यपी खोप भने आईसकेको छैन । कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाईसकेकालाई दिईने बुष्टर डोज फाईजर लगाउन स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्नको लागि तालिम प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताउनु भयो ।

उहाँका अनुसार ९३ लाख डोज फाईजर खोप नेपाल आउँदैछ । त्यसमध्येबाट जिल्लामा आउने खोप यस अगाडि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुरा भएकालाई प्राथमिकताका आधारमा दिईने उहाँले बताउनु भयो ।उक्त खोप सम्भवत चैतको पहिलो साता भित्रमा आउनेछ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले चरणवद्ध रुपमा जिल्लाका १६ स्थानीय तहका स्वास्थ्य संस्था प्रमुख, खोप लगाउने प्राविधिक र पालिकाका चिकित्सक गरि ३७५ जनालाई तालिम प्रदान गरिएको हो ।

तालिम कार्यक्रमको समापन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले साना साना कुराले पनि ठूलो महत्व राख्ने भएकाले साना कुरालाई पनि राम्रोसंग ध्यान दिएर काम गर्न सुझाव दिनुभयो ।

उहाँले खोप कार्यक्रमको लागि बजेटमा केही समस्या रहेको बताउँदै थप बजेट माग गरिएकोले व्यवस्थापन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पहिले १८ वर्ष माथिकालाई खोप दिने भन्ने थियो । त्यस्तै बुष्टर डोज खोपको पनि कुरा थिएन ।

पछि १२ वर्ष माथिका भन्ने आयो, बुष्टर डोज खोप लगाउने कुरा आयो, त्यसले सिमिट बजेट बाट थप काम गर्नु परेकाले समस्या भएको बताउँदै बजेट माग गरिएकाले व्यवस्थापन हुने र समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

हाल रुपन्देही जिल्लामा १२ वर्ष माथिका ९९ प्रतिशतले पहिलो मात्रा खोप लगाईसकेका छन् । त्यस्तै ९३ प्रतिशतले दोस्रो मात्रा पनि लगाईसकेको खोप अधिकृत शर्माले जानकारी गराउनु भयो ।तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का तालिमका सहभागि बुद्धि घर्ती, गीता भण्डारीले भनाई राख्नुभएको थियो । फागुन २३ गते देखी तालिम सुरु भएको थियो ।

सम्बन्धित शिर्षक :