कोरोना नियन्त्रण र उपचारमा लुम्बिनी प्रदेश प्रमुख शेरचनको चासो

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना संक्रमण नियन्त्रण , खोप अभियान र उपचारका अबस्थाबारे जानकारी लिनुभएको छ ।

पछिल्लो समय कोरोनाको नँया भेरियन्ट तिव्र गतिमा फैलिएपछि सरकारले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिनु भएको हो । मुख्यमन्त्री कुल प्रसाद केसी सहित सभामुख , प्रदेशका मन्त्रीहरु , स्वास्थ्य मन्त्रालयका सचिब,सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालय बुटवलमा बोलाएर अहिलेको अबस्थाको बारेमा जानकारी लिनुभएको हो ।

प्रदेश प्रमुख शेरचनले कोरोना महामारी नियन्त्रणको लागि लुम्बिनी प्रदेशले अभियान नै सञ्चालन गरेर अरु प्रदेशले पनि सिको गर्ने कार्य गर्न सुझाब दिनुभयो । उहाले प्रयाप्त मात्रामा पिसिआर परिक्षण नभएको , सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टाईन सञ्चालन हुन नसकेको मिडियाबाट आफुले जानकारी पाएको बताउँदै उहाले तत्काल तिनै तहका सरकार मिलेर कोरोना नियन्त्रण तथा बिरामीको उपचारमा लाग्नको लागि सुझाब दिनुभयो ।

सरकारको पहिलो दायित्व नागरिकको जिवन रक्षा भएको प्रमुख बताउँदै शेरचनले विकास निर्माणका कामहरु स्थगित गरेर भएपनि नागरिकको जिवन सुरक्षा गर्नको लागि ध्यान दिन आग्रह गर्नु भयो ।

यस्तै मुख्यमन्त्री कूलप्रसाद केसीले कोरोना संक्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीहरुको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमनमा जोड दिईएको वताउनु भयो । केन्द्र सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही ,कपिलबस्तु र बाँकेमा गरी ३ वटा होल्डिङ्ग सेन्टरको निर्माणको काम भईरहेको र बनिसकेका सेन्टरको सञ्चालन गरिने जानकारी दिनुभयो। रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ्ग सेन्टर नबनेको र कपिलबस्तु र बाँकेमा निर्माणको काम अन्तिम चरणमा पुगेको केसीले बताउनु भयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य ,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिब बिकाश देवकोटाले अहिले प्रदेशमा कोरोना परिक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको जानकारी गराउनु भयो।नँया भेरियन्टसँगै कोरोना संक्रमण फेलिएपछि प्रदेशमा ११ जनाको मृत्यु भएको डा देबकोटाले बताउनु भयो ।

नँया भेरिएन्ट पछि ५ हजार ५ सय २८ जना प्रदेशमा संक्रमित भएको र ५ हजार ३६ जना होम आईसुलेशन , ५० जना संस्थागत आईसुलेशन , ३३ जना आईसियु र १ जना भेण्टिलेटरमा रहेको वताउनु भयो ।प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल , भिम अस्पताल , भेरी र राप्ती अस्पताललाई कोरोना डेडिकेटेट अस्पताल बनाएर तयारी अवस्थामा राखिएको देवकोटाले वताउनु भयो ।

प्रदेशका विभिन्न अस्पतालहरुमा ६सय २४ एचडियु , ,२सय ५३ आईसियु , र ६२ वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएकोे छ । अहिलेसम्म प्रदेशमा लक्षित जनसंख्या मध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई दोश्रो मात्राको कोरोना विरुद्धको खोप लगाईएको डा देबकोटाले बताउनु भयो । अझैं १८ लाख ६२ हजार भन्दा बढि डोज आवश्यकता रहेको सचिब देवकोटाको भनाई छ।

.रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भारतबाट आएका यात्रुहरुको नाकामा कोरोना परिक्षण गर्दै आएको र संक्रमण पोजेटिभ देखिएकाको ब्यवस्थापमा समस्या रहेको वताउनु भयो । बेलहिया नाकाबाट देशका विभिन्न ठाउँमा जाने यात्रु आउने र उनिहरुलाई गन्तब्यसम्म ल्यैजानको लागि चुनौंती रहेको गुनासो गर्नु भयोे । जिल्लामा अहिलेसम्म ९० प्रतिशतले पहिलो र ८०प्रतिशतले दोश्रा मात्राको खोप लगाईसकेको वताउनु भयो ।

नेपाली प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रकाश अधिकारीले प्रहरीले कोरोना संक्रमणबाट बच्नको लागि नागरिकमा सुरक्षा सचेतना फैलाईरहेको वताउनु भयो। नागरिकलाई मास्क वितरण गर्दै जनचेतना फैलाईरहेको समेत उहाले जानकारी गराउनु भयो । भारतबाट आउने गाडीका चालकको कोरोना परिक्षण नहुँदा संक्रमण फैलिन सक्ने भएकाले उनिहरुको चेकको ब्यवस्था मिलाउनु पर्ने उहाको भनाई थियो।

यस्तै नेपाली सेनाका महासेनानी मचिन्द्र थापाले प्रदेशको रुपन्देही , बाँके र कपिलबस्तुमा अहिले होल्डिङ्ग सेन्टर निर्माणको काम भईरहेको र कपिलबस्तुमा ८२ प्रतिशत भौंतिक र ५५ प्रतिशत आर्थिक प्रगति भएको वताउनु भयो । बाँकेको जमुना नाकामा हजार जना क्षमताको लागि बनेको र अहिले ३सय जना राख्न सकिने वताउनु भयो ।

यस्तै प्रदेशका सभामुख पूर्ण बहादुर घर्ति ,आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का ,सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा , स्वास्थ्य ,जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारु लगायतले कोरोना संक्रमण रोकथाम नियन्त्रणका प्रयास बारेमा प्रदेश प्रमुखलाई जानकारी गराउनु भएको थियो ।

सम्बन्धित शिर्षक :