श्रमजीवी पत्रकारको स्वास्थ्य उपचारमा विशेष व्यवस्था गर्न प्रेस काउन्सिलको माग

स्वास्थ्यसमाचार /प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारको स्वास्थ्य उपचारमा विशेष व्यवस्था गर्न सरकारसंग माग गरेको छ । श्रमजीवी पत्रकार हित तथा कानुन उपसमितिको आइतबार बसेको बैठकले श्रमजीवी पत्रकारको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गर्न सरकार समक्ष माग गर्ने निर्णय गरेको हो ।

श्रमजीवी पत्रकार एलवी विश्वकर्माको उपचारमा निजामती कर्मचारी (सिभिल)अस्पतालले बेवास्ता गरेका कारण निधन भएको विषयमा प्रेस काउन्सिलले गम्भीर चासो व्यक्त गर्दै आएको छ ।६ सय रुपैयाँ अपुग भएकै कारण सिभिल अस्पतालले पत्रकार विश्वकर्मालाई आकस्मिक उपचार कक्षमा भर्ना नगरेको र समयमै उपचार हुन नसक्दा उनको निधन भएको भन्ने समाचारहरु बाहिर आए पछि प्रेस काउन्सिलले यो विषयमा चासो देखाएको छ ।

यसै सन्दर्भमा गत शुक्रबार काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत,सदस्य ठाकुर बेलवासे,प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल र अधिकृत गीता पराजुली लगायतको टोलीले सिभिल अस्पताल प्रशासनलाई भेटेर घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको थियो ।

अध्यक्ष बस्नेतले पत्रकार एलवीको मृत्युमा अस्पतालको लापरबाहीबारे गम्भीर प्रश्न उठेको भन्दै तत्काल छानबिन समिति गठन गर्न सिभिल अस्पताल प्रशासनसँग माग गरेका थिए । अस्पतालका मेडिकल निर्देशक अनुजजंग रायमाझीसंगको छलफलमा अध्यक्ष बस्नेतले घटनालाई असामान्य रुपमा लिएर गम्भीर रुपमा छानविन गर्न समेत माग गरेका थिए । निर्देशक रायमाझीले घटना बारे आन्तरिक छलफल गरेर अगाडि बढ्ने बताएका थिए ।

काउन्सिलको ताकेता पछि सिभिल अस्पतालले पनि आकस्मिक विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन पनि गरेको छ । उपसचिव कृष्ण सापकोटा ,शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत सदस्य रहेको काउन्सिलका अध्यक्ष बस्नेतले बताए ।

यस्तै प्रेस काउन्सिलले विश्वकर्माको मृत्युको घटनाबारेमा सत्यतथ्य छानबिन गर्दै पत्रकारहरुको स्वास्थ्य उपचारमा सरकारले विशेष व्यवस्था गर्न विज्ञप्ति मार्फत माग गरेको छ । आजै अध्यक्ष बस्नेत,सदस्य दीपक पाण्डे र ठाकुर बेलवासेको टोलीले विश्वकर्मा कार्यरत संचारगृह टिभी टुडेको कार्यलयका पुगेर उनको तलब ,सेवा सुविधाका बारेमा जानकरी लिएको काउन्सिल प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

सम्बन्धित शिर्षक :