गोमूत्र:क्यान्सरको उत्पत्ति रोक्न, सुगर घटाउन, विषादीको असर कम गर्न उपलब्धिमूलक

पूर्वीय सभ्यता र विशेष गरी सनातन धर्ममा गाईको विशेष महत्व छ। गाईबाट मानिसका लागि अत्यन्त पोषिलो र शक्तिवर्धक दूध प्राप्त हुने हुँदा गाईलाई माता मानेर गौमाता भनिन्छ र गाईको पूजा गर्ने चलन पनि छ। मही, दही, घ्यू, पनिर, मिष्ठान्न लगायत बनाएर स्वाद र शक्ति प्राप्त गर्ने हुँदा गाई पूजनीय हुनु स्वाभाविक नै छ। स्वादिलो दूध र दूधका परिकार बाहेक पनि गाईबाट अर्को महत्वपूर्ण कुरा प्राप्त गर्न सकिन्छ, त्यो हो गोमूत्र।

गोमूत्र पञ्चगव्य (दूध, दही, घ्यू, गोबर र गोमूत्र) मध्यको एक हो। पञ्चगव्य विभिन्न धार्मिक कार्य सम्पादनमा अनिवार्य आवश्यक कुरा हो र त्यसबाहेक यसका विभिन्न औषधीय प्रयोग पनि हुने गरेको पाइन्छ। यस लेखमा गोमूत्रको विशेष चर्चा गदैै यसको महत्व, उपयोगिता र थप औषधीय सम्भावनाको बारेमा प्रकाश पार्ने प्रयास गरिएको छ।

प्राचिन आचार्यहरुले गोमूत्रको बहुउपयोगीताका कारणले यसलाई ब्रह्माम्बु पनि भनेका छन्। यसको उपयोगिता विभिन्न तरिकाले भएको पाइन्छ। गोमूत्रको सोझै बाह्य तथा आभ्यन्तर प्रयोगदेखि विभिन्न औषधिहरुको प्रशोधन तथा निर्माणमा यसको उपयोगिता व्यापक रुपमा गरिएको पाइन्छ। यसलाई आसवन (distillation) गरेर गोमूत्र अर्कको रुपमा पनि प्रयोग गर्न सकिन्छ। गोमूत्र उष्ण, तीक्ष्ण, कटु, लघु, क्षारीय गुण युक्त हुँदा यसले कफ र वात दोष शमन गर्दछ साथै यसको प्रयोग दीपन, लेखन, पाचन, अनुलोमन, मलशोधन, आमपाचन आदि कर्मका लागि गर्न सकिन्छ।

गोमूत्रमा ९५ प्रतिशत पानी, २.५ प्रतिशत युरिया र बाँकी २.५ प्रतिशतमा विभिन्न लवण, क्षार आदि हुन्छन्। आयुर्वेदका ग्रन्थहरुमा पेटका रोगहरु, छालारोग, मानसिक रोगहरु आदिमा प्रयोग हुने विभिन्न औषधिहरुको निर्माणमा गोमूत्रको प्रयोग भएको हुन्छ। आयुर्वेदका प्राचीन ग्रन्थमा बताइएका प्रयोग बाहेक अन्य विभिन्न रोग व्याधिमा पनि गोमूत्रको प्रयोगबारे अध्ययन अनुसन्धान चलिरहेका छन्।

क्यान्सरको उपचारमा प्रयोग गरिने औषधिको साथमा गोमूत्रको प्रयोगले औषधिको प्रभावकारिता बढाई औषधिको मात्रा घटाउन सहयोग पुगेको र औषधिको कारणले हुने नकारात्मक प्रभाव घटाउन मद्दत गरेको एक अनुसन्धानले देखाएको छ। उक्त अनुसन्धान कार्यलाई अमेरिकी प्याटेन्ट प्राप्त भएको छ (US Patents No. 6,896,907/ 6,410,059 and 6,410,059)। यसैगरी भारतमा गरिएको एक अनुसन्धानमा मोटोपना भएका व्यक्तिमा ३ महिना गोमूत्र प्रयोग गर्दा मोटोपनाका विभिन्न मानक उल्लेख्य रुपमा घटाएको पाइएको छ।

यस्तै अर्को एक अनुसन्धानले क्यान्सर बिरामीहरुमा औषधिसँगै गोमूत्रको प्रयोग गर्दा लक्षणहरुको तीव्रतामा कमी ल्याएको पाइएको छ। आभ्यन्तर प्रयोगले अर्श अर्थात् पाइल्समा देखिने लक्षणहरुमा पनि उल्लेख्य कमी ल्याएको पाइएको छ। यसरी नै मुसाहरुमा गरिएको अनुसन्धानले क्यान्सरको उत्पत्ति रोक्न, घाउ छिटो निको बनाउन, सुगर घटाउन, विषादीको असर कम गर्न लगायत विभिन्न उपलब्धिमूलक नतिजाहरु दिएको छ।

आयुर्वेदका ग्रन्थहरुमा प्रशस्त उल्लेख भएको र अनुसन्धानहरुले पनि उपयोगीता सिद्ध गरेको भए पनि गोमूत्रको प्रयोगका बारेमा विभिन्न अफवाह फैलिएको र गलत प्रचारबाजी भएको पाइन्छ। केहि यसका स्थापित उपयोगितालाइ पनि स्वीकार्न तयार छैनन् भने केहि यसले सबै रोग ठिक गर्ने मिथ्या प्रचार गरिरहेका हुन्छन्। औषधिको कार्मुकता बढाउने तथ्य सिद्ध भएसँगै आयुर्वेदका औषधिमा यसको प्रयोग वैज्ञानिक थियो भन्ने कुरा प्रमाणित भएको छ।

यद्यपि गोमूत्रको प्रयोग सजिलो नभएको र यसको गलत मात्रा तथा अनुचित प्रयोग हानिकारक हुनसक्ने हुँदा यसको जथाभावी प्रयोग वाञ्छनीय हुँदैन। यसको प्रयोग विज्ञको रेखदेखमा तथा सल्लाहमा मात्र गर्नु उचित हुन्छ। थप अनुसन्धानले यसको प्रयोगमा नयाँ आयाम ल्याउनुका साथै यसको न्यायोचित प्रयोगको लागि मार्गदर्शन गर्न सक्ने हुँदा यसको उपयोगिताको विषयमा थप अनुसन्धान हुनु आवश्यक देखिन्छ। ई-कर्मचारीबाट ।

–(डा ज्ञवाली आयुर्वेद क्याम्पस, कीर्तिपुरमा कायचिकित्सामा एमडि रेजिडेन्ट हुन्।)

सम्बन्धित शिर्षक :