कोभिशिल्डको पहिलो मात्रा लगाएका १४ लाख ज्येष्ठ नागरिकलाई दोस्रो एष्ट्रेजेनेका लगाईने तयारी

स्वास्थ्यसमाचार/ नेपालमा कोभिशिल्डको पहिलो मात्रा लगाएका करीब १४ लाख ज्येष्ठ नागरिकहरु दोस्रो मात्रा खोपका लागि कुरिरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ लाख ६७ हजार ६५० जनालाई कोभिशिल्डको दोस्रो मात्रा लगाउन पर्नेछ ।

उनीहरुलाई जापान सरकारले अनुदानमा दिने भनेको एष्ट्रेजेनेकाको १६ लाख डोज नेपाल आएपछि लगाउने तयारी स्वास्थ्य मत्रालयले गरेको छ ।स्रोतका अनुसार ज्येष्ठ नागरिकका लागि कोभिशिल्ड वा उही निर्माण प्रक्रियाबाट विकास गरिएको एष्ट्रेजेनेकाको खोप उपलव्ध गराउन कोभ्याक्सलाई समेत अनुरोध गरिएको छ तर कोभ्याक्सले यसबारे टुंगो नलगाएकाले अब जापानबाट आउने खोपलाई कुरेर बसेको हो ।

यद्यपी जापानले १६ लाख डोज खोप दिने भनेपनि कहिले पठाउने भन्ने मिति तोकेको छैन । भारतमा निर्मित सेरमद्वारा निर्मित २० लाख डोज कोभिशिल्ड खरिद गरिसकेको भएपनि आफ्नो देशमा संक्रमण बढ्दै जाँदा तत्काल अन्य देशलाई खोप नदिने बताएपछि नेपालका ज्येष्ठ नागरिकहरुले समयमा नै दोस्रो मात्रा लगाउन नपाएका हुन् ।

भारतबाट तत्काल खोप नआउने देखेपछि सरकारले कोभिशिल्ड लगाएकाहरुलाई दोस्रो मात्राको विकल्पका रुपमा एष्ट्रेजेनेकाको खोप दिने निर्णय गरेको थियो । नेपालमा माघ १४ गते खोप अभियान कोभिशिल्ड खोप लगाएर शुभारम्भ गरिएको थियो । विभिन्न चरणमा प्राथमिकताका आधारमा १८ लाख २८ हजार ४८४ जनाले कोभिशिल्डको पहिलो मात्रा पाएका थिए ।

 

सम्बन्धित शिर्षक :