स्वास्थ्यसमाचार /प्रधानमन्त्रीले आज सातै प्रदेशका माननीय मुख्यमन्त्रीहरुसंग भिडियो कन्फ्रेन्स गरी प्रदेशमा कोरोना भाइरस रोकथाम तथा उपचारका लागि भइरहेका काम बारे प्रदेशस्तरमा जानकारी लिई तत्काल ध्यान दिनुपर्ने र गर्नुपर्ने कामबारे आवश्यक निर्देशन दिएका छन।
प्रधानमन्त्रीले नागरिकको जीवन सबैभन्दा ठूलो कुरा भएकोले त्यसैलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए । उनले जननिर्बाचित सरकारभन्दा माथि कुनै संयन्त्र नहुने भन्दै सरकारका सबै संयन्त्र अहिले व्यवस्थित ढंगले परिचालन भएको बताए ।
प्रधानमन्त्रीसंग प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना विरुद्धको लडाईमा अहिलेसम्म भएका काम बारे जानकारी गराए । उनले प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोष बनाएर योगदान गर्न प्रदेश सरकारले अपील गरेको र सरकारले १० करोड रुपैंया जम्मा गरेको बताए ।
त्यसैगरी स्थानीय नहलाई परिचालन गर्न महत्व दिएको र भिडियो कन्फ्रेन्स गरी एकअर्काको अनुभव आदानप्रदान गरेकोे बताए । मुख्यमन्त्रीले एकीकृत सूचना प्रणाली तयार गरी प्रत्येक पालिकाको विवरण प्रदेशको नेटर्वकमा आउने व्यवस्था मिलाएको जानकारी गराए ।
प्रदेशमा आइसियु सहितको चार वटा कोरोना विशेष अस्पताल स्थापना गरी उपचारको आवश्यक प्रबन्ध गरेको, अहिले प्रदेशमा ३ सय ४२ वटा क्वारेन्टाइन रहेको र त्यहा २ हजार ३ सय ५६ जना बस्न मिल्ने अवस्था रहेको बताए ।
अहिले खेती स्याहार्ने र लगाउने समय भएकाले सामाजिक दुरी कायम गरी उत्पादनको काममा नागरिकलाई लाग्नका प्रेरित गर्न उनले जोडदिए ।
प्रधानमन्त्रीले तीनै तहका सरकारको एकीकृत प्रयासले कोरोना विरुद्धको लडाई जित्न सकिने भएकाले उत्साहका साथ काममा जुट्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिए।
प्रतिकया दिनुहोस्