स्वास्थ्यसमाचार/ सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नौ दिनदेखि जारी अनशन अन्त्य गरेका छन्। सरकार र डा. केसीबीच आज बिहान सहमति भएको हो।
रातभर चलेको वार्तापछि भएको सहमतिपत्रमा सरकारका तर्फबाट शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र डा. केसीले हस्ताक्षर गरेका छन्। सहमतिको रोहबरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका स्वास्थ्य सल्लाहकार प्राडा. जगदीश अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजाल रहेका छन्।
सरकारले चिकित्सा शिक्षा सुधार, विश्वविद्यालयको ऐन संशोधन, विगतका सहमति कार्यान्वयन तथा विभिन्न जिल्लामा सरकारी मेडिकल कलेज स्थापना गर्ने विषयमा प्रतिबद्धता जनाएपछि डा. केसीले अनशन अन्त्य गरेका हुन्।
सहमतिका मुख्य ६ बुँदा
1. दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा छानबिन : एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालन र सिट निर्धारणका विषयमा प्रक्रिया अघि बढाउने तथा आर्मी मेडिकल कलेजमा सिट थपसम्बन्धी निर्णयको छानबिन गर्ने।
2. विश्वविद्यालय ऐन संशोधन : दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ संशोधन गरी पदाधिकारीको योग्यता र नियुक्ति प्रक्रिया व्यवस्थित गर्ने।
3. पुराना सहमति कार्यान्वयन : २०८३ साउन ११ गते डा. केसीसँग भएको सहमतिका बाँकी बुँदा कार्यान्वयन गर्ने।
4. अनुगमन कार्यदल गठन : सहमति कार्यान्वयनको अनुगमन गर्न सरकार, डा. केसी पक्ष, सांसद र नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गर्ने।
5. सरकारी मेडिकल कलेज स्थापना : डडेलधुरा, इलाम र उदयपुरमा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि काम अघि बढाउने तथा बर्दिबास मेडिकल कलेज सञ्चालन प्रक्रिया अगाडि बढाउने।
6. सत्याग्रह अन्त्य : सरकारसँग भएको सहमतिअनुसार डा. केसीले कात्तिक २१ गतेदेखि जारी सत्याग्रहका कार्यक्रम अन्त्य गर्ने।




प्रतिकया दिनुहोस्