तीन महिना देखि रेडियोलोजिस्ट विहीन पृथ्वीचन्द्र अस्पताल

स्वास्थ्यसमाचार/ पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालमा तीन महिना देखि रेडियोलोजी विशेषज्ञ चिकित्सक नहुँदा एक्स–रे, अल्ट्रासाउन्ड लगायत का परीक्षणको विशेषज्ञ मूल्याङ्कन तथा रिपोर्टिङ सेवा प्रभावित भएको छ ।

उपकरण उपलब्ध भए पनि विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सामान्य परीक्षणका लागि समेत अन्य अस्पताल तथा निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता भएको छ ।

सङ्घीय सरकारअन्तर्गत गजेन्द्रनारायण अस्पतालमा दरबन्दी रहेका रेडियोलोजिस्ट डा. प्रकाश ढकाल काजमा पृथ्वीचन्द्र अस्पतालमा कार्यरत थिए । सङ्घीय सरकारले काज फिर्ता गरेपछि अस्पतालमा रेडियोलोजिस्टको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले बताए ।

उनका अनुसार सङ्घीय सरकारको दरबन्दीमा रहेका तर प्रदेशअन्तर्गतका अस्पतालमा कार्यरत कर्मचारीलाई फिर्ता बोलाउने निर्णयपछि अस्पतालमा समस्या उत्पन्न भएको हो ।

“अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । तर उहाँहरू लाई पनि बिरामीको रोग पहिचानका लागि रेडियोलोजिस्टको आवश्यकता पर्छ,” अध्यक्ष चौधरीले भने, “रेडियोलोजिस्ट नहुँदा विशेषज्ञ चिकित्सकलाई उपचार गर्नसमेत समस्या भइरहेको छ ।”

रेडियोलोजिस्टको व्यवस्था गर्न प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको उनले बताए ।

सङ्घीय सरकारले काज फिर्ता भएका चिकित्सक तथा कर्मचारीलाई आवश्य कताअनुसार पुनः प्रदेशअन्तर्गत पठाउन सक्ने गरी निर्णय पुनरावलोकन गरेको जानकारी आए पनि अस्पतालमा जनशक्ति उपलब्ध हुन नसकेको उनको भनाइ छ ।

अस्पतालका प्रमुख वृजकुमार यादवले पनि रेडियोलोजिस्टको अभावले सेवा प्रभावित भएको स्वीकार गरे । उनका अनुसार अस्पतालमा आउने धेरै बिरामी लाई रोगको अवस्था पहिचान गर्न एक्स–रे, अल्ट्रासाउन्डलगायतका परीक्षण आवश्यक पर्छ ।

तर परीक्षणको विशेषज्ञ मूल्याङ्कन र रिपोर्टिङ गर्ने चिकित्सक नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था छ ।“अस्पतालमा इमेजिङ सेवा सञ्चालनका लागि आवश्यक उपकरण छन् ।

तर परीक्षणको विशेषज्ञ मूल्याङ्कन र रिपोर्टिङ गर्न रेडियोलोजिस्ट आवश्यक पर्छ,” उनले भने, “यसका लागि अस्पताल व्यवस्थापन र प्रशासन दुवै तहबाट पहल भइरहेको छ ।”

रेडियोलोजिस्ट नहुँदा सामान्य परीक्षणका लागि समेत बिरामीले थप समय र खर्च व्यहोर्नुपरेको स्थानीयको गुनासो छ ।

सरकारी अस्पतालमा कम खर्चमा उपचार सेवा पाउने अपेक्षासहित आउने बिरामी निजी स्वास्थ्य संस्था वा अन्य अस्पताल जानुपर्दा आर्थिक भार बढेको उनीहरूको भनाइ छ ।

नागरिक समाज नवलपरासीका सचिव अनिल अग्रहरीले जिल्लाकै प्रमुख सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव हुनु गम्भीर विषय भएको बताए । सङ्घ र प्रदेश सरकारबीचको समन्वय अभावको असर नागरिकले भोग्न नहुने उनको भनाइ छ ।

“जनताले कुन सेवा सङ्घको हो र कुन प्रदेशको हो भनेर हेर्दैनन्, उनीहरूले सेवा खोज्छन्,” अग्रहरीले भने, “सरकारी निकायबीचको समन्वय मिलाउने जिम्मेवारी सम्बन्धित सरकार र निकायको हो । त्यसको असर बिरामीले भोग्नु हुँदैन ।”

अस्पतालका अनुसार आन्तरिक स्रोतबाट ३३ जना तथा स्वीकृत दरबन्दी अन्तर्गत ७० जना चिकित्सक तथा कर्मचारी कार्यरत छन् । तर रेडियोलोजी विशेषज्ञको अभावमा अस्पतालमा उपलब्ध उपकरण र जनशक्तिको पूर्ण उपयोग हुन सकेको छैन ।

विशेषगरी दुर्घटनामा परेका, जटिल रोगका बिरामी तथा गर्भवती महिलाको स्वास्थ्य अवस्था पहिचान गर्न रेडियोलोजी सेवा महत्वपूर्ण मानिन्छ । परीक्षण बाट प्राप्त तस्बिरको विशेषज्ञ विश्लेषण र प्रतिवेदनका आधारमा उपचार प्रक्रिया अघि बढाउन सहज हुन्छ ।

सम्बन्धित शिर्षक :