स्वास्थ्यसमाचार/आम्दा–नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलले सोमबार आफ्नो २८औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ।
वार्षिकोत्सवका अवसरमा अस्पतालले बाल वार्डको क्याबिन भवन उद्घाटन गर्नुका साथै दीर्घसेवी तथा अवकाश प्राप्त कर्मचारीलाई सम्मान गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्वास्थ्य सेवालाई थप व्यवस्थित र गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो।
स्वास्थ्य सेवा संवेदनशील विषय भएको उल्लेख गर्दै उहाँले बालबालिका तथा महिलाको विशेषज्ञ स्वास्थ्य सेवाका लागि स्थापित अस्पतालको विकास र स्तरोन्नतिमा उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले अस्पतालको सेवा विस्तारसँगै जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार विकास र गुणस्तर सुधारमा आम्दा नेपालले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा आम्दा नेपालका अध्यक्ष डा. रोहितकुमार पोखरेलले स्थानीयको सहयोगमा अस्पताल सञ्चालन हुँदै आएको स्मरण गर्दै आम्दाले भविष्यमा मेडिकल कलेज सञ्चालन गर्ने योजना बनाएको जानकारी दिनुभयो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोदकुमार पराजुलीले हाल एक सय शय्यामा सञ्चालन भइरहेको अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने योजना अघि बढाइएको बताउनुभयो।
भौतिक पूर्वाधार र स्वास्थ्य क्षेत्रको जनशक्ति वृद्धि गरी अस्पताललाई यस क्षेत्रकै नमुना बाल तथा महिला अस्पताल बनाउने लक्ष्य रहेको उहाँको भनाइ थियो।
अस्पतालका प्रशासक खगेन्द्र क्षेत्रीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन अनुसार पछिल्लो एक वर्षमा अस्पतालबाट ६ हजार ९४ जनाले बहिरङ्ग सेवा, १४ हजार ३६४ जनाले आकस्मिक सेवा, आठ हजार ७०९ जनाले अन्तरङ्ग सेवा र एक हजार २४४ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्।
प्रतिवेदनमा बुटवल उपमहानगरपालिकाको सहयोगमा अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अन्तिम चरणमा रहेको जानकारीसमेत दिइएको छ।
वार्षिकोत्सवकै अवसरमा नगरपालिकाको करिब दुई करोड रुपैयाँ लगानीमा निर्माण गरिएको १४ शय्याको क्याबिन भवन उद्घाटन गरिएको थियो।
कार्यक्रममा एक दर्जन अवकाश प्राप्त तथा दीर्घसेवी कर्मचारीलाई दोसल्ला, प्रमाणपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली, आम्दा नेपालका सचिव डा. दुर्गाप्रसाद भण्डारी, समाजसेवी जीवनप्रसाद वझा, उज्ज्वल कसजू ,बुटबल उपमहानगर पलिका स्वास्थ्य शाखा प्रमुख युराज पान्डेय लगायतले अस्पतालको विकास र सेवा विस्तारका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा अस्पतालका एचआर देवप्रसाद खनालले सञ्चालन तथा मेट्रोन कल्पना विश्वकर्माले स्वागत गर्नुभएको थियो।



प्रतिकया दिनुहोस्