बालबालिकाको स्वस्थ वृद्धि र विकासका लागि पोषण, सरसफाइ र रोगबाट बच्ने उपाय अपरिहार्य छन्।
यही आवश्यकतालाई ध्यानमा राखेर सरकारले हरेक वर्ष वैशाख र कात्तिकमा भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सञ्चालन गर्दै आएको छ।
पाँच वर्षमुनिका बालबालिकालाई लक्षित यो कार्यक्रम बालस्वास्थ्य सुधार र पोषणसम्बन्धी जोखिम न्यूनीकरण गर्ने महत्त्वपूर्ण सार्वजनिक स्वास्थ्य अभियान हो।
भिटामिन ‘ए’ को कमीबाट हुने आँखासम्बन्धी समस्या रोकथाम गर्न, शरीरको रोग प्रतिरोधात्मक क्षमता कायम राख्न र जुकाको संक्रमणबाट उत्पन्न हुन सक्ने स्वास्थ्य समस्या घटाउन यो अभियान सञ्चालन गरिन्छ।
सरकारले सन् १९९३ देखि भिटामिन ‘ए’ वितरण र सन् २००१ देखि जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरेको हो।
बाल्यकालमा पोषणको कमी र संक्रमणले शारीरिक वृद्धि विकासमा असर पार्न सक्छ। त्यसैले नियमित खोप, पोषणयुक्त खाना, सरसफाइ र स्वास्थ्य परीक्षणसँगै सरकारले उपलब्ध गराउने निःशुल्क स्वास्थ्य सेवाको उपयोग गर्नु आवश्यक छ।
भिटामिन ‘ए’ को कमीले आँखामा जोखिम
भिटामिन ‘ए’ शरीरलाई थोरै मात्रामा आवश्यक पर्ने भए पनि यसको भूमिका महत्त्वपूर्ण छ। यसले आँखाको सामान्य कार्य सञ्चालन, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा सहयोग गर्छ।
शरीरमा भिटामिन ‘ए’ को कमी हुँदा राति कम देख्ने समस्या अर्थात् रतन्धो हुन सक्छ। कमी गम्भीर भएमा आँखाको सतहमा क्षति पुग्ने र दृष्टि गुम्नेसम्मको जोखिम रहन्छ। पर्याप्त भि
टामिन ‘ए’ ले शरीरलाई विभिन्न संक्रमणसँग जुध्न पनि सहयोग गर्छ।हरियो सागपात, पहेँलो तथा सुन्तला रङका फलफूल र तरकारी, अण्डा, दूधजन्य पदार्थ तथा जनावरको कलेजोमा भिटामिन ‘ए’ पाइन्छ।
आमाको दूध पनि शिशुका लागि यसको महत्त्वपूर्ण स्रोत हो। तर, खानाबाट पर्याप्त पोषण प्राप्त गर्न नसक्ने बालबालिकालाई लक्षित गरी सरकारले निःशुल्क क्याप्सुल वितरण गर्दै आएको छ।
राष्ट्रिय कार्यक्रमअन्तर्गत छदेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख अन्तर्राष्ट्रिय एकाइ (आईयू) र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख आईयू भिटामिन ‘ए’ दिने व्यवस्था छ। उमेरअनुसार सही मात्रा दिनु आवश्यक भएकाले स्वास्थ्यकर्मीको निर्देशन पालना गर्नुपर्छ।
जुकाको संक्रमणले पोषणमा असर
बालबालिकामा जुकाको संक्रमण हुँदा शरीरले खानाबाट प्राप्त गर्ने पोषक तत्त्वको उपयोगमा असर पर्न सक्छ। संक्रमणको प्रकार र गम्भीरताअनुसार पेट दुख्ने, भोक कम लाग्ने, रक्तअल्पता तथा शारीरिक वृद्धि प्रभावित हुने जोखिम रहन्छ।
दूषित माटो, असुरक्षित खानेपानी, फोहोर वातावरण र सरसफाइको कमीले जुकाको संक्रमण फैलिन सक्छ। त्यसैले बालबालिकालाई साबुनपानीले हात धुने बानी सिकाउने, सुरक्षित खानेपानी उपलब्ध गराउने, सफा खाना खुवाउने र शौचालयको प्रयोग गराउने काम पनि उत्तिकै महत्त्वपूर्ण छ।
सरकारको नियमित कार्यक्रमअनुसार एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका लाई उमेरअनुसार जुकाको औषधि खुवाइन्छ।
सामान्यतया १२ देखि २३ महिना सम्मका बालबालिकालाई अल्बेन्डाजोल २०० मिलिग्राम र २४ देखि ५९ महिना सम्मका बालबालिकालाई ४०० मिलिग्राम दिने व्यवस्था छ। औषधिको मात्रा र सेवनसम्बन्धी निर्देशन स्वास्थ्यकर्मीले पालना गराउनुपर्छ।
औषधि खुवाएर मात्रै पुग्दैन
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानले बालस्वास्थ्यमा महत्त्वपूर्ण योगदान पुर्याए पनि यसबाट मात्रै सबै स्वास्थ्य समस्या समाधान हुँदैनन्। बालबालिकालाई सन्तुलित आहार, नियमित खोप, पर्याप्त स्तनपान, सफा खानेपानी र स्वच्छ वातावरण उपलब्ध गराउनु पनि आवश्यक छ।
बालबालिकामा कुपोषणको जोखिम घटाउन परिवारको भूमिका महत्त्वपूर्ण हुन्छ। स्थानीय रूपमा उपलब्ध पोषणयुक्त खानेकुरा खुवाउने, उमेरअनुसार वृद्धि विकासको निगरानी गर्ने र स्वास्थ्य समस्या देखिएमा समयमै स्वास्थ्य संस्थामा लैजाने बानी विकास गर्नुपर्छ।
त्यस्तै, स्वास्थ्य संस्थाले लक्षित बालबालिकासम्म सेवा पुर्याउन नियमित तथ्यांक अद्यावधिक गर्ने, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत अभिभावकलाई जानकारी दिने र अभियानमा छुटेका बालबालिकालाई सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्छ। स्थानीय तह, स्वास्थ्यकर्मी र सञ्चारमाध्यमबीचको समन्वयले अभियानबारे जनचेतना बढाउन सहयोग गर्छ।
अभिभावकको सहभागिता अनिवार्य
राष्ट्रिय अभियानको प्रभावकारिता लक्षित सबै बालबालिकाले सेवा पाए कि पाएनन् भन्नेमा निर्भर हुन्छ। औषधि उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन; अभिभावकलाई सही जानकारी दिनु र बालबालिकालाई तोकिएको समयमा सेवा केन्द्रसम्म पुर्याउनु पनि आवश्यक हुन्छ।
अभिभावकले आफ्ना बालबालिकाको उमेरअनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नजिकको स्वास्थ्य संस्था वा तोकिएको वितरण केन्द्रमा सम्पर्क गर्नुपर्छ। औषधिको मात्रा, सेवनको समय वा बालबालिकाको स्वास्थ्य अवस्थाबारे अन्योल भएमा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ।
बालबालिकाको स्वास्थ्यमा गरिने लगानी स्वस्थ र सक्षम भविष्य निर्माणको आधार हो। भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानलाई औपचारिक कार्यक्रमका रूपमा मात्र नभई बालस्वास्थ्य सुरक्षासँग जोडिएको साझा जिम्मेवारीका रूपमा लिन आवश्यक छ।
सरकारले उपलब्ध गराउने निःशुल्क सेवाको लाभ प्रत्येक लक्षित बालबालिकासम्म पुर्याउन अभिभावक, स्वास्थ्यकर्मी र समुदायको सहकार्य अपरिहार्य छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटबल


प्रतिकया दिनुहोस्