दशैँ नेपालीहरूको प्रमुख चाड हो। आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने, मिठामिठा परिकार खाने र रमाइलो गर्ने अवसरका रूपमा दशैँलाई लिइन्छ। दशैँको खानपानमा मासुका परिकारको विशेष महत्त्व हुन्छ।
तर चाडपर्वमा स्वादका लागि आवश्यकताभन्दा बढी मासु, चिल्लो तथा मसलायुक्त खानेकुरा र मदिरा सेवन गर्दा पेट तथा कलेजोसम्बन्धी समस्या बढ्न सक्छ।
वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. मोहन भुसाल, ग्यास्ट्रो सेन्टर बुटवलका अनुसार दशैँमा खानपान सन्तुलित नहुँदा ग्यास्ट्रिक, अपच, कब्जियत र झाडापखाला जस्ता समस्या देखिन सक्छन्। विशेषगरी पहिले नै पेट तथा कलेजोसम्बन्धी समस्या भएका व्यक्तिले खानपानमा थप सावधानी अपनाउनुपर्छ।
किन हुन्छ समस्या ?
एउटा काम नसक्दै अर्को काम थुपार्दा त्यसलाई सम्पन्न गर्न गाह्रो हुन्छ । त्यस्तै दशैंको बेला धेरै मासु खाँदा पेट र कलेजोमा त्यस्तै भार पर्छ । किनकि बिहान खाएको खाना नपच्दै पेटमा अर्को खानेकुरा पुग्दा पाचन प्रक्रियामा समस्या भइरहेको हुन्छ । मासुमा उच्च प्रोटिन हुने भएकाले पेट र कलेजोले राम्रोसँग काम गर्न सक्दैन । जसकारण अपच भएर झाडापखाला लाग्न सक्छ ।
कलेजोको काम खानालाई पचाउने हो । अन्य खानेकुराभन्दा मासु पचाउन समय लाग्छ, किनकि यो प्रोटिनको मुख्य स्रोत हो । दशैंको बेलामा मासु अत्यधिक मात्रामा जसले गर्दा कलेजोले मासुलाई पचाउन सकेको हुँदैन ।
त्यसमाथि रक्सीसँग मासु थप खाइरहेका हुन्छन् । यसले रक्सी र मासु दुवैलाई पचाउन कलेजोले जोडतोडका साथ कलेजोले काम गरेको हुन्छ । त्यस्तै सजिलो गरी बुझ्दा मासु पच्न समय लाग्ने होइन, बोसो पच्न समय लाग्ने हो । कार्बोहाइड्रेट, फाइबरयुक्त खाना खाएको केही घण्टामा पच्ने गर्छ भने मासुमा भएको बोसो पचाउन कलेजोबाट एउटा छुटै पित्त सानो आन्द्रामा आएपछि मात्र पच्छ ।
यति गर्दा पनि मासु नपचेर शरीरमा बोसो जम्मा हुँदै जान्छ । यसबाट मोटोपन, उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, पेट गडबडी हुने र मलद्वारको समस्या कब्जियतलगायत समस्या निम्त्याउने सम्भावना हुन्छ । यसलाई हेलचेक्र्याइँ गरेमा अल्सर र मुटुरोगको जोखिम हुन्छ ।
कसरी पकाएको मासु पचाउन सजिलो हुन्छ ?
तेल, मरमसला कम राखेर कुकरमा पकाएको मासु पचाउन सजिलो हुन्छ । तर दशैंमा मासु यसरी झोल बनाएर वा नरम बनाएर भन्दा पनि पोलेर, तारेर, फ्राइ गरेर धेरै खाने चलन छ ।
पोलेर फ्राइ गरेर खाँदा मासु राम्रोसँग नपाकेको पनि हुन सक्छ । पोलेको मासुको भित्री भाग राम्रोसँग नपाक्न चपाउन गाह्रो हुने हुन्छ । जसले गर्दा आमाशयमा ठूलो टुक्रा मासु भएपछि पचाउन ढिलो हुन्छ ।
मासुको टुक्रा स–साना बनाएर सुपजस्तै गरी पकाएर खाएमा झनै पचाउन सजिलो हुन्छ । मासु पकाएर भन्दा उसिनेर खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।
किनकि उसिनेको मासुमा बोसो कम हुने र तेल, मसलासमेत कम हुने हुँदा शरीरलाई बेफाइलदा गर्दैन । त्यस्तै मासुका साथै फाइबरयुक्त खानेकुरा पनि मिलाएर खाएमा लाभदायक हुन्छ ।
मासु बालबालिका र वृद्धवृद्धाले पाचनप्रक्रिया कमजोर हुने भएकाले उनीहरुले मासुजन्य परिकार कम सेवन गर्दा उपयुक्त हुन्छ । धेरै खाएमा नपचेर कब्जियत, पेट गडबडी हुने र मलद्वारमा समेत समस्या हुन सक्छ ।
कलेजोका बिरामी विशेषगरी मदिरा, बोसोयुक्त र चिल्लो खानाकै कारण कलेजोमा समस्या निम्तिने हो । चाडबाडको समयमा खानामा ध्यान नदिंदा कलेजो बिग्रिन सक्छ ।
मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ, यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पार्दै जान्छ ।
मासुको छनोट ?
मासुका पनि विभिन्न प्रकार हुन्छन् । कलिलो, कडा, हड्डी धेरै भएको, बोसो धेरै भएको हुन्छ मासु । कलिलो खसी, बोका वा राँगाको मासु पचाउन अलि सजिलो हुन्छ भने कडा, रेसादार, रातो मासु पच्न धेरै समय लाग्छ । यसबाहेक रातो मासुभन्दा बरु कुखुराको मासु, माछा खानु राम्रो हुन्छ ।
डा. भुसालको सुझावअनुसार चाडपर्वमा खानपानको सन्तुलन कायम राख्नु, चिल्लो तथा बोसोयुक्त खाना सीमित गर्नु र मदिराबाट टाढा रहनु पेट तथा कलेजोको स्वास्थ्य जोगाउने महत्त्वपूर्ण उपाय हुन्। दशैँको खुसीसँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिऔँ।



प्रतिकया दिनुहोस्