स्वास्थ्यपेज सातौँ वर्षमा, स्वास्थ्य क्षेत्रको विकासका लागि स्वस्थ पत्रकारिता अपरिहार्य :सचिव श्रेष्ठ

स्वास्थ्यसमाचार/दिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रमलाई सम्वोधन गर्ने व्यक्तित्वहरुले स्वस्थ समाजका लागि स्वास्थ्य पत्रकारिता अपरिहार्य रहेकोमा जोड दिए ।

त्यसका निमित्त स्वास्थ्यपेज डटकमले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अझ यसलाई व्यवसायिक बनाएर लैजान सुझाव दिए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले स्वास्थ्य क्षेत्रको विकासका लागि स्वस्थ पत्रकारिता अपरिहार्य रहेको बताइन् । उनले जिम्मेवार र मर्यादित पत्रकारिताले मात्रै स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

पत्रकारिताका क्षेत्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा स्वास्थ्यपेजले अहम् भूमिका निर्वाह गरेको उनको भनाइ छ । लुम्विनी प्रदेश सरकारले आमनागरिकको गुणस्तरीय स्वास्थ्य प्राप्तिका सवालमा प्राथमिकतामा राखेर काम गर्दै आएको सचिव श्रेष्ठको भनाइ छ ।

नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले मोफसलको बीट पत्रकारिताका क्षेत्रमा स्वास्थ्यपेजले छुट्टै पहिचान कायम गर्न सफल भएको बताए ।

उनले व्यवसायिक पत्रकारिताका माध्यमबाट स्वास्थ्य क्षेत्रको सम्भावना, समस्याको पहिचान र समाधानको उपायको खोजीका निमित्त विश्वसनीय सामग्री उत्पादन गरेकै कारण छोटो समयमै स्वास्थ्यपेज स्थापित भएको उल्लेख गरे ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त पूर्व सचिव एवम् अग्रज चिकित्सक डा.श्यामसुन्दर यादवले स्वास्थ्यपेजले विश्वसनीय पत्रकारिकता गरेकै कारण स्वास्थ्यक्षेत्रमा विश्वास स्थापित भएको बताए ।

यस्तै भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले स्वास्थ्य पत्रकारिता स्वास्थ्य क्षेत्रका लागि अपहरिहार्य रहेको बताए । स्वास्थ्यपेजले स्वास्थ्यक्षेत्रका विभिन्न आयामबारे आमनागरिकलाई सुसूचित गर्नेमात्र नभएर नीतिनिर्माण तहमा समेत खवरदारी गर्दै आएको उल्लेख गरे ।

प्रालिका अध्यक्ष प्रियास्मृति ढकालले स्वास्थ्यपेजले सकारात्मक पत्रकारिता लाई प्रवर्धन गर्दै आएको बताए । उनले स्वास्थ्यकर्मी र नागरिकलाई जोड्ने पुलको काम स्वास्थ्यपेजले स्वास्थ्य पत्रकारितामार्फत गर्दै आएको उल्लेख गरे ।

उनले भने -‘स्वास्थ्यक्षेत्रले स्वास्थ्यपेज डटकमलाई गरेको विश्वासका कारण सातौं वार्षिकोत्सव मनाउने अवसर बनेको छ । सकारात्मक र विश्वसनीय पत्रकारितामा हामी प्रतिवद्ध छौं ।’

उनले आगामी दिनमा पत्रकारिताका माध्यमबाट स्वास्थ्य क्षेत्रको प्रणाली कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा आफ्ना कन्टेन्टहरु केन्द्रीत गर्न चाहेको पनि बताए ।

वार्षिकोत्सवमा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ लगायतले स्वास्थ्यपेज विशेषांकको विमोचन समेत थिए । यस्तै यो वर्ष अग्रज चिकित्सक सम्मानबाट वरिष्ठ चिकित्सक डा. एम किदवाईलाई सम्मानित गरिएको छ ।

स्वास्थ्यपेज डटकमका प्रधान सम्पादक समेत रहेका नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन भने शोभा केसीले गरेकी थिइन् ।

सम्बन्धित शिर्षक :