‘डिस्क देखिँदैमा अप्रेसन होइन, स्ट्रोकमा समय नै जीवन’ : डा. राजीव भण्डारी

गुल्मीको धुर्कोट गाउँमा हुर्किएका डा. राजीव भण्डारी अहिले दिनहुँ मानिसको मस्तिष्क, मेरुदण्ड र स्नायुसँग जोडिएका जटिल समस्या समाधान गर्न व्यस्त हुन्छन्।

गाउँमा हुर्किँदा उनले चिकित्सक बन्छु भनेर सायदै सोचेका थिए। तर चिकित्सा अध्ययनपछि रोजेको न्युरोसर्जरीको क्षेत्रले उनलाई लुम्बिनी प्रदेशका बिरामीसँग जोड्यो।

अहिले उनी लुम्बिनी प्रादेशिक अस्पतालमा वरिष्ठ न्युरो तथा स्पाइन सर्जनका रूपमा कार्यरत छन्। त्यहाँ न्युरोसर्जरी सेवा विस्तारमा पनि उनको महत्वपूर्ण भूमिका छ।

मस्तिष्क, मेरुदण्ड र स्नायुमा हुने समस्या सामान्य टाउको दुखाइदेखि जटिल शल्यक्रियासम्म फैलिएको हुन्छ। मस्तिष्कघात, मिर्गी, मस्तिष्कको ट्युमर, टाउकोमा चोट, घाँटी तथा कम्मरको डिस्क र मेरुदण्डसम्बन्धी समस्या उनको नियमित उपचारको क्षेत्र हो।

डा. भण्डारीका लागि यो केवल शल्यक्रियाको विषय होइन। बिरामीले जटिल उपचारका लागि काठमाडौं नै धाउनुपर्ने अवस्था कम होस् भन्ने उनको प्रयास पनि हो।

मोबाइल र कुर्सीको जीवनले बढाउँदैछ घाँटी–कम्मरको समस्या

पछिल्लो समय घाँटी र कम्मर दुख्ने समस्या लिएर अस्पताल पुग्ने मानिसको संख्या बढिरहेको उनी बताउँछन्।

लामो समय मोबाइल, कम्प्युटर वा टेलिभिजन हेर्ने, एउटै अवस्थामा घण्टौं बस्ने, शारीरिक व्यायाम नगर्ने, गलत आसनमा बस्ने र मोटोपन बढ्दै जानु यसको प्रमुख कारणमध्ये हुन्।

“लामो समयसम्म एउटै अवस्थामा बस्ने बानी, गलत आसन, व्यायामको कमी र मोटोपनले घाँटी तथा कम्मरको समस्या बढाउन सक्छ,” उनी भन्छन्।
उमेर बढ्दै जाँदा मेरुदण्डका हड्डी तथा डिस्कमा आउने परिवर्तन, चोटपटक र अन्य रोगले पनि समस्या निम्त्याउन सक्छ।

तर कम्मर दुख्यो भन्दैमा सबैलाई ‘डिस्क खस्यो’ भनेर बुझ्नु गलत हुने उनको भनाइ छ।

‘एमआरआईमा डिस्क देखियो भन्दैमा अप्रेसन गर्नुपर्दैन’

कम्मर दुखेपछि एमआरआई गराउने र रिपोर्टमा डिस्कको समस्या देखिएपछि तुरुन्तै शल्यक्रिया गर्नुपर्छ भन्ने बुझाइ अझै धेरैमा रहेको डा. भण्डारी बताउँछन्।

तर अवस्था त्यस्तो हुँदैन। “एमआरआईमा डिस्क देखिँदैमा सबैलाई अप्रेसन आवश्यक हुँदैन,” उनी भन्छन्, “बिरामीको लक्षण, शारीरिक परीक्षण र एमआरआईको रिपोर्टलाई सँगसँगै हेर्नुपर्छ।”

धेरै बिरामी औषधि, शारीरिक उपचार, नियमित व्यायाम, काम गर्ने शैलीमा परिवर्तन र अन्य गैरशल्यक्रियात्मक उपचारबाटै सुधार हुन सक्छन्।

तर हातखुट्टामा शक्ति घट्दै जाने, असह्य वा निरन्तर दुखाइ हुने, हिँड्न समस्या हुने, पिसाब वा दिसा नियन्त्रणमा समस्या आउने तथा संवेदनशील भागमा अनुभूति हराउनेजस्ता लक्षण देखिए शल्यक्रियाको आवश्यकता पर्न सक्ने उनी बताउँछन्।

त्यसैले रिपोर्ट मात्रै हेरेर उपचारको निर्णय गर्नु उपयुक्त नहुने उनको सुझाव छ।

स्ट्रोकमा ‘समय’ नै सबैभन्दा ठूलो कुरा

न्युरोसर्जरीसँग जोडिएको अर्को गम्भीर समस्या हो–मस्तिष्कघात अर्थात् स्ट्रोक।स्ट्रोक हुँदा बिरामीको अनुहार बांगिनु, हातखुट्टा कमजोर हुनु वा बोली अस्पष्ट हुनुजस्ता लक्षण देखिन सक्छन्।

डा. भण्डारीका अनुसार यस्ता लक्षण देखिएपछि घरमै बस्ने, घरेलु उपचार गर्ने वा केही समय हेरेर अस्पताल जाने गर्नु जोखिमपूर्ण हुन सक्छ।

“स्ट्रोकमा समय निकै महत्वपूर्ण हुन्छ। लक्षण सुरु भएको समय थाहा पाउनु र सकेसम्म छिटो उपचार हुने अस्पतालमा पु¥याउनु आवश्यक हुन्छ,” उनी भन्छन्।

अनुहार बांगिनु, एउटा हात कमजोर हुनु र बोलीमा समस्या आउनु स्ट्रोकका महत्वपूर्ण संकेत हुन्। यस्ता लक्षण देखिए समय खेर नफाली अस्पताल पु¥याउनुपर्ने उनको सुझाव छ।

अचानक टाउको दुखे पनि सधैं सामान्य हुँदैन

टाउको दुख्ने समस्या धेरै मानिसमा देखिन्छ। तनाव, माइग्रेन, निद्राको कमी, पानीको कमी वा आँखासम्बन्धी समस्याले पनि टाउको दुख्न सक्छ।

तर अचानक जीवनकै सबैभन्दा कडा टाउको दुखाइ हुनु, बेहोस हुनु, हातखुट्टा कमजोर हुनु, बोली वा दृष्टिमा समस्या आउनु, लगातार बान्ता हुनु, ज्वरोसँगै घाँटी कडा हुनु वा टाउकोमा चोट लागेपछि टाउको दुख्नु गम्भीर अवस्थाका संकेत हुन सक्ने उनी बताउँछन्।

“टाउको दुख्यो भन्दैमा आत्तिनुपर्ने होइन। तर केही विशेष लक्षणसँगै टाउको दुखेको छ भने त्यसलाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन,” उनी भन्छन्।

गाउँबाट सुरु भएको यात्रा

गुल्मीको धुर्कोट गाउँपालिका–५ बस्तुमा  जन्मिएका डा. भण्डारीले एमबी बीएस पछि जनरल सर्जरीमा एमएस गरे। त्यसपछि उनले न्युरोसर्जरीमा थप विशेषज्ञता हासिल गरे।

उनले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट एमसीएच न्युरोसर्जरी गरेका हुन्।

विशेषज्ञता हासिल गरेपछि उनको पहिलो नियुक्ति लुम्बिनी प्रादेशिक अस्पतालमै भयो। त्यहीँबाट उनले न्युरोसर्जरी सेवा विस्तारको काम अघि बढाए।

अहिले लुम्बिनीमै मस्तिष्क, मेरुदण्ड तथा स्नायुका जटिल समस्या लिएर आउने बिरामीको उपचारमा उनी सक्रिय छन्।

लुम्बिनी प्रादेशिक अस्पतालबाहेक उनी सिर्जना मेडिकल हल र बुटवल हस्पिटल प्रालिमा पनि न्युरो तथा स्पाइनसम्बन्धी उपचार र शल्यक्रियामा संलग्न छन्।

रोग लागेपछि मात्रै होइन, जीवनशैलीमै ध्यान

न्युरो तथा स्पाइनसम्बन्धी धेरै समस्या जीवनशैलीसँग पनि जोडिएको उनको अनुभव छ।

उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, धूमपान, अत्यधिक मदिरा सेवन, मोटोपन, शारीरिक निष्क्रियता र पारिवारिक इतिहासले मस्तिष्कघातलगायतका जोखिम बढाउन सक्छ।

त्यसैले नियमित व्यायाम, सन्तुलित खानपान, तौल नियन्त्रण, पर्याप्त निद्रा र धूमपानबाट टाढा रहनुपर्ने उनी बताउँछन्।

घाँटी र कम्मरको समस्या कम गर्न लामो समय एउटै आसनमा नबस्ने, सही आसन अपनाउने र भारी वस्तु उठाउँदा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ।

स्ट्रोक भइसकेका बिरामीले भने चिकित्सकले दिएको औषधि नियमित सेवन गर्नुका साथै रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रणमा राख्नुपर्ने उनी बताउँछन्।

गुल्मीको गाउँबाट सुरु भएको उनको यात्रा अहिले लुम्बिनीका बिरामीको उपचारसम्म आइपुगेको छ।

न्युरोसर्जरीमा उनको सक्रियता बढ्दै जाँदा लुम्बिनीमै जटिल उपचार खोज्ने बिरामीका लागि पनि विकल्प विस्तार हुँदै गएको छ।

उनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भने एउटै छ-मस्तिष्क, मेरुदण्ड र स्नायुसँग जोडिएका समस्यालाई समयमै पहिचान गरेर सही उपचारमा पुग्नु।

सम्बन्धित शिर्षक :