स्वास्थ्यसमाचार/विद्यालय तहमा बालबालिका तथा किशोरकिशोरीको स्वास्थ्य र पोषण अवस्थामा सुधार ल्याउन विद्यालय नर्सको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीको आयोजनामा दाङ, नवलपरासी, रुपन्देही र कपिलवस्तुका विद्यालयमा कार्यरत २६ जना स्वास्थ्यकर्मीका लागि बुटवलमा दुईदिने अभिमुखीकरण कार्यक्रम यस्तो बताईएको हो।
ईन्द्रेणी/फेयरमेडको प्रेरणा परियोजनाको सहयोगमा आयोजित कार्यक्रममा विद्यालय स्वास्थ्य नर्स तथा रोभिङ नर्सको भूमिका, जिम्मेवारी र विद्यालयमा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी गतिविधिका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको उद्घाटन स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरीले गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमादेवी थापा, फेयरमेडको प्रेरणा परियोजनाका सोभाराम भण्डारी ,फेयरमेड फाउण्डेशन नेपालका तुलसीराम खनाल तथा रुपन्देही जिल्ला संयोजक किरण श्रेष्ठलगायतको सहभागिता थियो।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा विद्यालयमा स्वास्थ्य सेवा प्रवाह गर्दा आवश्यक पर्ने विभिन्न विषयमा सहभागीलाई अभिमुखीकरण गरिएको थियो।
स्वास्थ्य मन्त्रालयको चिकित्सा तथा नर्सिङ महाशाखा प्रमुख ईश्वरी केसी, डा अच्युत शर्मा न्यौपाने जनस्वास्थ्य अधिकृत वेदप्रसाद भण्डारी, वरिष्ठ तथ्याङ्क अधिकृत मानबहादुर ओली ,मनोबिद राजु शिह भन्डारी र परिवार नियोजन सुपरभाइजर कुमार थापाले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा नर्सिङको भूमिका, नसर्ने रोग, उपेक्षित उष्णप्रदेशीय रोगहरू (Neglected Tropical Diseases – NTDs) रोग, पोषण, मानसिक स्वास्थ्य र प्रजनन स्वास्थ्यलगायत विषयमा छलफल गरिएको थियो। विद्यालयमा विद्यार्थीको स्वास्थ्य समस्या प्रारम्भिक चरणमै पहिचान गर्ने, आवश्यक परामर्श दिने, स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने तथा आवश्यकता अनुसार स्वास्थ्य संस्थासँग समन्वय गर्ने विषयमा समेत सहभागीलाई जानकारी दिइएको थियो।
विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत विद्यार्थीको शारीरिक स्वास्थ्य परीक्षण, जुकाको औषधि वितरण, प्राथमिक उपचारका लागि सामग्री उपलब्ध गराउने, स्थानीय उत्पादनमा आधारित दिवा खाजा व्यवस्थापन तथा वितरण, विद्यालय र वातावरणीय सरसफाइ प्रवर्द्धन तथा रक्तअल्पता रोकथामका लागि आइरन–फोलिक एसिड वितरणलगायतका गतिविधि सञ्चालन हुने गरेका छन्।

कार्यक्रमको समापन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले बालबालिकाको स्वास्थ्यमा परिवर्तन ल्याउन विद्यालयमा कार्यरत स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले स्वास्थ्य, पोषण र आनीबानी सुधारको सुरुआत आफैंबाट गर्नुपर्ने बताउँदै रोभिङ नर्सले विद्यार्थीमा स्वस्थ व्यवहार विकास गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो।
“परिवर्तन आफैंबाट सुरु गरौँ, सम्भव छ। स्वास्थ्य, पोषण र आनीबानी सुधार गराउन रोभिङ नर्सको महत्वपूर्ण भूमिका हुन्छ,” उहाँले भन्नुभयो।
विद्यालय जीवनमा सिकेको कुरा जीवनभर व्यवहारमा लागू हुने भएकाले विद्यार्थीलाई सुरुदेखि नै स्वस्थ खानपान, सरसफाइ र स्वास्थ्यसम्बन्धी व्यवहार सिकाउनुपर्ने उहाँको भनाइ थियो।
“विद्यालय जीवनमा जे सिकिन्छ, त्यो जीवनभर लागू हुन्छ। तपाईंहरूले जे सिकाउनुहुन्छ, विद्यार्थीले त्यही सिक्छन्,” उहाँले भन्नुभयो।
स्वास्थ्यकर्मी आफैं विद्यार्थीका लागि उदाहरण बन्नुपर्ने बताउँदै सचिव श्रेष्ठले हात धुने, स्वस्थ खाना खाने र सरसफाइ गर्ने जस्ता सामान्य व्यवहारसमेत आफ्नो आचरणबाट सिकाउनुपर्ने बताउनुभयो।
विद्यालयमा सिकेका कुरा विद्यार्थीले घरमा पु¥याउँदा त्यसबाट परिवार हुँदै समुदायमा समेत सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँले बताउनुभयो। “घर परिवर्तन भयो भने समुदाय परिवर्तन हुन्छ र समुदायबाट हुँदै देश परिवर्तन हुन्छ,” उहाँले भन्नुभयो।
रोभिङ नर्स कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान सके सरकारले यसको विस्तार गर्दै जाने उहाँले बताउनुभयो। विद्यालयमा स्वास्थ्यकर्मीले विद्यार्थीको स्वास्थ्य समस्या पहिचान, परामर्श, स्वास्थ्य शिक्षा, स्वास्थ्य तथा पोषणसम्बन्धी सचेतना र आवश्यक परे स्वास्थ्य संस्थामा प्रेषण तथा फलोअप गर्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले स्वास्थ्यकर्मीले विद्यालयमा गरेका गतिविधिको नियमित अभिलेख तथा प्रतिवेदन राख्नसमेत सुझाव दिनुभयो।
प्रदेश स्वास्थ्य निर्देशनालयले चालु आर्थिक वर्षमा विद्यालय रोभिङ नर्स कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिका, २०८३ समेत सार्वजनिक गरेको छ।



प्रतिकया दिनुहोस्