स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. पौडेल

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको शक्तिशाली निकाय स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेलले पाएका छन्।

स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरिय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी डा.पौडेललाई दिएकी हुन्।

यसअघि स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी समेत सम्हाालेका डा.पौडेलले भद्रगोल अवस्थामा पुगेको बोर्डलाई लयमा ल्याएका थिए।

वरिष्ठ बालरोग विशेषज्ञ समेत रहेका डा. पौडेल स्वास्थ्य सेवाका अब्बल प्रशासकको रुपमा गनिन्छन। उनी ११ औँ तहका अधिकृत हुन्।

यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा कार्यरत थिए। डा. पौडेल निमित्त महानिर्देशकमा आएपछि यसअघि निमित्त रहेका डा.अनुज भट्टचन पूर्ववत् विभागकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारीमा फर्केका छन्।

तर स्वास्थ्य सेवा विभागको महानिर्देशक पद १२ औँ तहको हो।

स्वास्थ्य मन्त्रालयमा अहिले स्वास्थ्य सचिव डा. विकास देवकोटा सहित तीन स्वास्थ्यकर्मी १२ औँ तहका रहेका छन्, जसमा डा. संगीता मिश्रा, डा. श्रीकृष्ण श्रेष्ठ छन्।

हाल डा. संगिता मिश्रा प्रधानमन्त्री कार्यालयमा तानिएपछि अहिले स्वास्थ्य मन्त्रालयमा १२ औँ तहमा कार्यरत डा. श्रीकृष्ण श्रेष्ठ मात्रै छन्।

तर मन्त्रालयले एक जना अतिरिक्त सचिव मन्त्रालयमै आवश्यक रहेको भन्दै स्वास्थ्य मन्त्री मेहताले ११ औँ तह मध्येका अब्बल स्वास्थ्यकर्मीलाई विभागकको महानिर्देशकको जिम्मेवारी दिएको बताइएको छ।

डा. पौडेलले मंगलबार टेकु पुगेर विभागको जिम्मेवारी समेत समालिसकेका छन्।

 

सम्बन्धित शिर्षक :