स्वास्थ्यसमाचार/विश्व फार्मेसी दिवस २०२६ को अवसरमा लुम्बिनी प्रदेशमा फार्मासिस्टको पेशागत भूमिका, औषधिको सुरक्षित तथा तर्कसंगत प्रयोग र स्वास्थ्य सेवामा फार्मेसी क्षेत्रको योगदानबारे छलफल गरिएको छ।
नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा आयोजित शुभकामना आदान–प्रदान तथा कार्यपत्र प्रस्तुतीकरण कार्यक्रममा सहभागीले फार्मासिस्टको भूमिका औषधि वितरणमा मात्र सीमित नरहेको भन्दै बिरामीलाई औषधिसम्बन्धी उचित परामर्श, औषधिको सुरक्षित प्रयोग र उपचारको प्रभावकारितामा फार्मासिस्टको भूमिका महत्वपूर्ण हुने बताएका हुन्।
कार्यक्रममा नेपाल फार्मेसी संघ केन्द्रीय उपाध्यक्ष एवं सिटिइभिटी परीक्षा उपनियन्त्रक डा. मीना भट्टले फार्मासिस्टको व्यावसायिक भूमिका, औषधिको सुरक्षित तथा तर्कसंगत प्रयोग, बिरामीलाई प्रभावकारी औषधि परामर्श र स्वास्थ्य प्रणालीमा फार्मासिस्टको योगदानका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
उहाँले बदलिँदो स्वास्थ्य आवश्यकतासँगै फार्मासिस्टको भूमिका पनि विस्तार हुँदै गएको बताउँदै औषधिको सही छनोट, मात्रा, प्रयोग विधि, सम्भावित प्रतिकूल असर र औषधि सेवनसम्बन्धी आवश्यक जानकारी बिरामीसम्म पुर्याउन फार्मासिस्टको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रीदेवी अर्यालले फार्मेसी संघ तथा फार्मासिस्टको पेशागत सुरक्षा र क्षमता विकासका लागि स्थानीय तहबाट सहयोग हुँदै आएको बताउनुभयो।
उहाँले फार्मेसी पेशाको क्षमता विकास तथा पेशागत हितका लागि नगरपालिकाले बजेट विनियोजन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा यस्तो सहयोगलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनले फार्मासिस्टको पेशागत विकास तथा फार्मेसी क्षेत्रको सुदृढीकरणका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो।

उहाँले फार्मेसी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्दै अनुकूल कार्य वातावरण र आवश्यक सेवा–सुविधा उपलब्ध गराउने बताउनुभयो। फार्मासिस्टका लागि आवश्यक दरबन्दी खोल्ने विषयमा समेत प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै उहाँले पेशागत विकासका लागि सरकार पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्री पुनले विश्व फार्मेसी दिवसको अवसरमा फार्मासिस्ट तथा फार्मेसी क्षेत्रमा आबद्ध सबैलाई शुभकामना व्यक्त गर्नुभयो।
नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशका अध्यक्ष खेमराज तिवारी को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय सचिव धुर्वकुमार शर्मा, निवर्तमान केन्द्रीय अध्यक्ष किरण ढकाल, बुटवल उपमहानगरपालिका स्वास्थ्य विभाग प्रमुख युवराज पाण्डे, देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशी बञ्जाडे र तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा अधिकृत रामप्रसाद ढकाललगायत वोल्नु भएको थियो।
कार्यक्रममा फार्मेसी क्षेत्रको वर्तमान अवस्था, औषधि सुरक्षामा फार्मासिस्टको भूमिका, स्वास्थ्य सेवामा फार्मेसीको योगदान तथा आगामी दिनमा फार्मेसी पेशालाई थप प्रभावकारी र व्यवस्थित बनाउने विषयमा छलफल गरिएको थियो।
विश्व फार्मेसी दिवस प्रत्येक वर्ष सेप्टेम्बर २५ मा मनाइन्छ। फार्मासिस्ट तथा फार्मेसी क्षेत्रले स्वास्थ्य सेवामा पुर्याउँदै आएको योगदानलाई उजागर गर्नुका साथै औषधिको सुरक्षित र प्रभावकारी प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइन्छ।
यस वर्षको विश्व फार्मेसी दिवसको मूल नारा ‘Empowering Pharma cists for a Healthier Future’ अर्थात् ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ रहेको छ।
नाराले स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउन फार्मासिस्टको ज्ञान, सीप, क्षमता र पेशागत भूमिकालाई सशक्त बनाउने विषयलाई जोड दिएको छ। नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष सुपेन्द्र यादव को स्वागत तथा प्रदेश कमिटीका महासचिव उदयबहादुर खत्री को कार्यक्रम सम्पन्न भएको थियो।



प्रतिकया दिनुहोस्