स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ। सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह तथा रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ।
नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। शपथग्रहणसँगै उहाँहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको मन्त्रालयले जनाएको छ।
नेपाल नर्सिङ काउन्सिल नर्सिङ शिक्षाको गुणस्तर, नर्सहरूको दर्ता, इजाजतपत्र व्यवस्थापन, व्यावसायिक आचारसंहिताको कार्यान्वयन तथा नर्सिङ पेशाको नियमन गर्ने प्रमुख वैधानिक निकाय हो।
नयाँ नेतृत्वले काउन्सिलको संस्थागत सुदृढीकरण, सेवा प्रवाहमा प्रभावकारिता तथा नर्सिङ पेशाको व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नवनियुक्त पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारी निष्पक्ष, पारदर्शी र प्रभावकारी रूपमा सम्पादन गर्दै नर्सिङ क्षेत्रको गुणस्तरीय विकासमा योगदान पुर्याउन शुभकामना व्यक्त गरेको छ।
नयाँ नेतृत्वको नियुक्तिसँगै नर्सिङ शिक्षा, दर्ता तथा नियमन प्रणालीलाई थप व्यवस्थित, प्रविधिमैत्री र सेवामुखी हुने लक्ष्य राखिएको छ।


प्रतिकया दिनुहोस्