स्वास्थ्यसमाचार/ विश्व स्तनपान सप्ताह २०८३ को अवसरमा रुकुम पूर्व अस्पतालमा नयाँ स्तनपान कक्ष सञ्चालनमा ल्याइएको छ। “दिगो जीवनको स्वास्थ्य सुरुआत, प्रभावकारी स्तनपानका लागि सबैको साथ” भन्ने नारासहित आयोजित कार्यक्रममा अस्पतालमै प्रसूति सेवा लिएकी एक आमाको हातबाट स्तनपान कक्षको उद्घाटन गरिएको हो।
अस्पतालमा नियमित रूपमा आठ पटक गर्भजाँच (एएनसी) गराई सोही अस्पतालमै सुरक्षित प्रसूति गरेकी आमा र नवजात शिशुको सहभागितामा स्तनपान कक्षको शुभारम्भ गरिएको अस्पतालले जनाएको छ। कार्यक्रममा स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाको पनि सहभागिता रहेको थियो।
दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी तथा स्तनपान गराइरहेका आमालाई सहज, सुरक्षित र गोप्य वातावरणमा सेवा उपलब्ध गराउने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको हो। यसबाट आमालाई स्तनपानसम्बन्धी परामर्श, सही तरिकाबारे जानकारी तथा आवश्यक सहयोग उपलब्ध हुने अपेक्षा गरिएको छ।
रुकुम पूर्व अस्पतालका मेसु डा. कृष्ण खरेलले दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा निरन्तर विस्तार भइरहेको बताए। स्तनपान कक्ष सञ्चालनले मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धनमा थप सहयोग पुग्ने उनको भनाइ छ।
अस्पतालले गर्भजाँच, सुरक्षित प्रसूति, नवजात शिशु हेरचाह तथा सुत्केरीपछिको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ। दुर्गम रुकुम पूर्वमा स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै मातृ तथा शिशु स्वास्थ्य सुधारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।



प्रतिकया दिनुहोस्