उपकरण, जनशक्ति र पूर्वाधारमा मन्त्री घिमिरेको प्रतिबद्धता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताललाई पश्चिम नेपालकै विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने भएको छ।

अस्पतालको सेवा विस्तारसँगै आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापनमा मन्त्रालयले सहकार्य गर्ने स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे ले बताउननु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले लुम्बिनी प्रादेशिक अस्पताल यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवाको मेरुदण्ड भएको बताउनु भयो।

उहाँले अस्पतालमा बिरामीको चाप बढ्दै गएको अवस्थामा सेवा विस्तारसँगै गुणस्तर कायम गर्नु मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो। “सेवा थप भएर मात्रै हुँदैन, त्यसलाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्छ। अस्पतालको आवश्यकता अनुसार जनशक्ति, उपकरण र पूर्वाधारका लागि मन्त्रालय सहकार्य गर्न तयार छ,” उहाँले भन्नुभयो।

मन्त्री घिमिरेले अस्पतालको जनशक्ति व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने, आवश्यक उपकरण उपलब्ध गराउने र विशेषज्ञ चिकित्सक व्यवस्थापनमा समेत पहल गर्ने बताउनु भयो।

कार्यक्रममा स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले प्रविधिको प्रयोगबाट स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने बताउनुभयो। उहाँले टेलिमेडिसिन सेवा सुरु भएपछि दुर्गम क्षेत्रका नागरिकले समेत विशेषज्ञ चिकित्सकको परामर्श लिन सक्ने अवस्था बन्ने बताउनुभयो।

“स्वास्थ्य सेवा सबै ठाउँमा समान रूपमा पु¥याउन प्रविधिको प्रयोग आवश्यक छ। टेलिमेडिसिनले दुर्गमका बिरामीलाई विशेषज्ञ सेवासँग जोड्न सहयोग गर्छ,” उहाँले भन्नुभयो।

सचिव श्रेष्ठले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा करिब ४४ करोड रुपैयाँ कम बजेट आएको बताउँदै उपलब्ध बजेटको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। प्रदेश सरकारले मात्र सबै आवश्यकता पूरा गर्न नसक्ने भएकाले अस्पताल विकास समितिले पनि सेवा सुधार र स्रोत व्यवस्थापनमा सक्रिय भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले न्यूनतम सेवा मापदण्ड (एमएसएस) लाई अंक बढाउने माध्यमका रूपमा मात्र नभई वास्तविक सुधारको आधार बनाउनुपर्ने बताउनुभयो। “एमएसएस देखाउनका लागि होइन, सेवा सुधारका लागि हुनुपर्छ। यसको कार्यान्वयन पारदर्शी हुन आवश्यक छ,” उहाँले भन्नुभयो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतम ले पछिल्ला तीन आर्थिक वर्षमा अस्पतालले सेवा विस्तार, प्रविधि थप र गुणस्तर सुधारमा उल्लेख्य प्रगति गरेको जानकारी दिनुभयो। उहाँका अनुसार सीमित स्रोतसाधनका बीच अस्पताललाई पश्चिम नेपालकै विशिष्टीकृत स्वास्थ्य केन्द्र बनाउने लक्ष्यसहित काम भइरहेको छ।

“बिरामीको विश्वास बढेको छ। सेवाको दायरा विस्तार भएपछि उपचारका लागि टाढा जानुपर्ने अवस्था कम हुँदै गएको छ,” उहाँले भन्नुभयो। अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०÷८१ मा ३ लाख ४८ हजार ९७१ जना ले ओपिडी सेवा लिएका थिए। आर्थिक वर्ष २०८२÷८३ मा यो संख्या बढेर ४ लाख २० हजार २० जना पुगेको छ।

त्यस्तै स्वास्थ्य बीमामार्फत सेवा लिनेको संख्या पनि बढेको छ। आर्थिक वर्ष २०८०÷८१ मा १ लाख ७१ हजार ९७४ जना रहेको बीमा सेवाग्राही आर्थिक वर्ष २०८२÷८३ मा बढेर २ लाख ४३ हजार ८६३ जना पुगेका छन्।
अस्पतालमा आकस्मिक सेवा लिने बिरामीको संख्या पनि बढेको छ। तीन वर्षअघि ७२ हजार २४४ जनाले इमर्जेन्सी सेवा लिएकोमा पछिल्लो वर्ष यो संख्या बढेर ८४ हजार ६६१ जना पुगेको छ।

कार्यक्रममा अस्पतालका विभिन्न विभागीय प्रमुखहरूले सेवा प्रवाहका क्रममा देखिएका समस्या र आवश्यकताबारे जानकारी गराएका थिए।डा. गोपाल ज्ञवाली, पुष्पराज जोशी, डा. किरण पौडेल, डा. सुरेन्द्र कुँवर, डा. भुवन पौडेल, डा. सञ्जीव साह, डा. नारायण पोखरेल, डा. सन्तोष बस्नेत, डा. बिनिता रेग्मी, दिपेन्द्र पौडेल,सागर पन्थी, पदम खनाल, हुमलाल खनाल र प्रशासकिय अधिकृत प्रेम गौतमले विभागीय समस्या र सुधारका विषयमा धारणा राख्नुभएको थियो।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष अजय श्रेष्ठ ले अस्पतालको सेवा सुधारका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। विकास समिति सदस्य कल्पना ढकाल ले पनि अस्पतालको क्षमता विस्तारमा सामूहिक पहल आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा स्वास्थ्य निर्देशक रोशनलाल चौधरी, मन्त्रालयकी महाशाखा प्रमुख ईश्वरी केसी लगायतको सहभागिता रहेको थियो।

सम्बन्धित शिर्षक :