रूपन्देहीमा रगतको अभाव: ३३ हजार संकलन :३९ हजार युनिट वितरण

स्वास्थ्यसमाचार/रूपन्देहीमा रगतको माग निरन्तर बढ्दै गएको छ। आर्थिक वर्ष २०८२-८३ मा बुटवल र भैरहवास्थित नेपाल रेडक्रस सोसाइटीका रक्त सञ्चार सेवा केन्द्रबाट ३३ हजार ७ सय युनिट रगत संकलन भए पनि ३९ हजार ४३ युनिट रगत तथा रक्त वितरण गरिएको तथ्यांकले जिल्लामा रगतको आवश्यकता संकलनभन्दा बढी रहेको देखाएको छ।

नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्ला शाखाले सोमबार ६१औँ रक्त सञ्चार सेवा दिवसका अवसरमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार संकलित रगतमध्ये २८ हजार ६ सय १६ युनिट (८५ प्रतिशत) पुरुष तथा ५ हजार ८४ युनिट (१५ प्रतिशत) महिला रक्तदाताबाट प्राप्त भएको हो।

रूपन्देहीमा संस्थागत रक्तदान अभियान प्रभावकारी बन्दै गएको प्रतिवेदनले देखाएको छ। आर्थिक वर्षभर ४ सय २४ संघसंस्थाले ६ सय ७२ पटक रक्तदान कार्यक्रम आयोजना गरी २५ हजार २ सय ४३ युनिट अर्थात् कुल संकलनको ७५ प्रतिशत रगत उपलब्ध गराएका छन्। व्यक्तिगत तथा स्वतःस्फूर्त रक्तदाताबाट ८ हजार ४ सय ५७ युनिट (२५ प्रतिशत) रगत संकलन भएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले रगतको अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नहुने बताए। रक्तदानलाई समाजको साझा उत्तरदायित्वका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै उनले स्थानीय तह, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था र नागरिकबीच सहकार्य अझ सुदृढ हुनुपर्ने बताए।

उनले पछिल्ला वर्षहरूमा अस्पताल र स्वास्थ्य सेवाको विस्तारसँगै रगतको माग उल्लेख्य रूपमा बढेको उल्लेख गर्दै नियमित रक्तदाता उत्पादन गर्नु अहिलेको आवश्यकता भएको बताए। जन्मदिन, विवाह वर्षगाँठ, पुण्यस्मृति तथा अन्य विशेष अवसरलाई रक्तदानसँग जोड्न सके रगतको अभाव कम गर्न सकिने उनको भनाइ थियो।

आर्थिक वर्ष २०८२-८३ मा वितरण गरिएको ३९ हजार ४३ युनिट रगतमध्ये ३३ हजार १ सय ७९ युनिट होल ब्लड तथा प्याक सेल र ५ हजार ८ सय ६४ युनिट ब्लड कम्पोनेन्ट रहेको प्रतिवेदनमा उल्लेख छ। वितरण गरिएका रगतमध्ये २१ हजार २ सय ८२ युनिट (५५ प्रतिशत) महिला तथा १७ हजार ७ सय ६१ युनिट (४५ प्रतिशत) पुरुष सेवाग्राहीले प्राप्त गरेका छन्।

प्रदेश सरकारको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पतालका बिरामीलाई १२ हजार ७ सय १५ युनिट रगत निःशुल्क उपलब्ध गराइएको छ। त्यसैगरी विभिन्न स्थानीय तहसँग भएको सम्झौताअनुसार १५ हजार ९ सय ८० युनिट रगत निःशुल्क वितरण गरिएको रेडक्रसले जनाएको छ। निजी तथा सामुदायिक अस्पतालमा १० हजार ३ सय ४८ युनिट रगत सेवा शुल्कसहित उपलब्ध गराइएको थियो।

हाल रूपन्देहीका ५३ अस्पतालमा नेपाल रेडक्रस सोसाइटीमार्फत रक्त सञ्चार सेवा सञ्चालन भइरहेको छ। स्वास्थ्य सेवा विस्तारसँगै रगतको माग प्रत्येक वर्ष बढ्दै गएको र नियमित रक्तदाता बढाउन अझ व्यापक जनचेतना आवश्यक रहेको कार्यक्रममा वक्ताहरूले बताएका थिए।

रक्त सञ्चार सेवा केन्द्र बुटवलकी इन्चार्ज राधा ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सेवा विस्तारसँगै गुणस्तरीय र सुरक्षित रक्त आपूर्तिलाई प्राथमिकतामा राखिएको बताइन्। रक्त सञ्चार सेवा समितिका रूपन्देही संयोजक बेनबहादुर पौडेल क्षेत्रीले नियमित रक्तदाता उत्पादन, आधुनिक उपकरण व्यवस्थापन तथा सेवा विस्तार आगामी प्राथमिकता रहेको जानकारी दिए।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युबराज खत्रीले रक्तदान मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक सेवामध्ये एक भएको उल्लेख गर्दै यस्ता अभियानमा स्थानीय तहको सहकार्य निरन्तर रहने बताए।

दिवसका अवसरमा जन्मदिन, पुण्यस्मृति तथा अन्य विशेष अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएका सरकारी कार्यालय, स्थानीय तह, स्वास्थ्य संस्था, धार्मिक तथा सामाजिक संघसंस्था, उद्योग-व्यवसाय, वित्तीय संस्था तथा अन्य सामाजिक संस्थासहित ६३ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो।

रक्त सञ्चार सेवाको विकासमा योगदान पुर्‍याएको भन्दै महेन्द्रनारायण श्रेष्ठ, विमलबहादुर शाक्य, परशुराम शाक्री, प्रेमलाल उदास तथा लुम्बिनी प्रादेशिक अस्पताललाई विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रूपन्देहीका सभापति रामचन्द्र उपाध्याय, उपसभापति रमा कुमारी, कार्यवाहक मन्त्री दिनेश पन्थीलगायतले रक्तदानलाई निरन्तर सामाजिक अभियानका रूपमा अघि बढाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए।

सम्बन्धित शिर्षक :