बालशिशु मृत्युदर शून्यमा झार्न सबैको साथ आवश्यक : मन्त्री घिमिरे

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले सन् २०३० सम्म दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न मातृ तथा बालशिशु मृत्युदरलाई शून्यमा झार्ने अभियानमा सबै सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

राप्ती गाउँपालिका–१, भालुवाङमा आयोजित मातृ तथा बाल स्वास्थ्य पुस्तिका परियोजनाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले गर्भवती महिलादेखि नवजात शिशुसम्मको नियमित स्वास्थ्य परीक्षण, पोषण व्यवस्थापन, सुरक्षित प्रसूति सेवा तथा खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

जाइका नेपालको सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सम्पन्न कार्यक्रममा उनले मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धिलाई संस्थागत गर्दै अझ प्रभावकारी नतिजा हासिल गर्न स्थानीय तह, स्वास्थ्यकर्मी, विकास साझेदार तथा समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताए।

कार्यक्रममा मातृ तथा बाल स्वास्थ्यसम्बन्धी जनचेतनामूलक नाटक ‘दुई पुस्ताको सोच’ पनि मञ्चन गरिएको थियो। राप्ती गाउँपालिकास्थित आशाका किरण संस्थाले प्रस्तुत गरेको नाटकले गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यमा परिवारको भूमिका, नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, सुरक्षित प्रसूति सेवा तथा मातृ तथा बाल स्वास्थ्य पुस्तिकाको प्रयोगको महत्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो।

स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका मुख्यसचिव कृष्णप्रसाद काप्री, जाइका नेपालका प्रतिनिधि मिजुकी मात्सुजाकी, परियोजना व्यवस्थापक गौरीप्रधान श्रेष्ठलगायतले मातृ तथा बाल स्वास्थ्य सुधारका लागि परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन स्वास्थ्य मन्त्रालयकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक ईश्वरी केसीले गरेकी थिइन्।

सम्बन्धित शिर्षक :