स्वास्थ्यसमाचार/ लमही नगरपालिकाले सामुदायिक डायलाइसिस सेन्टरमा नयाँ डायलाइसिस मेसिन जडानका लागि बजेट व्यवस्थापन गरेको जनाएको छ ।
डायलाइसिस सेवा लिन अझै पनि करिब ५० जना बिरामी पालो कुरेर बस्नुपर्ने अवस्था रहेकाले सेवा विस्तारका लागि आवश्यक स्रोत व्यवस्थापन गरिएको नगर प्रमुख जोगराज चौधरीले जानकारी दिएका छन् ।
रोटरी क्लब अफ लमहीको सातौँ पद हस्तान्तरण तथा नयाँ कार्यसमितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले डायलाइसिस सेवा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको क्षमता विस्तारमा नगरपालिका प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा रोटरी क्लब अफ लमहीको सन २०२६-०२७ का लागि लोकमान रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराइएको थियो । निवर्तमान अध्यक्ष श्यामलाल भण्डारीले नवनिर्वाचित अध्यक्ष रिजाललाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
नगर प्रमुख चौधरीले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा रोटरी क्लबले निरन्तर गर्दै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै सामुदायिक डायलाइसिस सेन्टर सञ्चालन गरेर क्लबले स्वास्थ्य क्षेत्रमा अनुकरणीय काम गरेको बताए ।रोटरी क्लब अफ दाङका पूर्व अध्यक्ष सनतकुमार श्रेष्ठले रोटरीले समाजमा सकारात्मक परिवर्तन ल्याउने अनुकरणीय योजना र अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
रोटरी क्लब अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष एजाज आलमले रोटरीको मूल्य, मान्यता र विधानअनुसार जिम्मेवारी बहन गर्दै सेवा कार्यलाई प्रभावकारी बनाउन आग्रह गरे ।
संस्थापक अध्यक्ष रविलाल आचार्य र देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा रोटरी क्लबले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।
रोटरी क्लब अफ लमहीले विगतदेखि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेषगरी सामुदायिक डायलाइसिस सेन्टरमार्फत मिर्गौला रोगीलाई सहज उपचार सेवा उपलब्ध गराउँदै आएको क्लबको योगदानलाई कार्यक्रममा विशेष रूपमा स्मरण गरिएको थियो ।



प्रतिकया दिनुहोस्