स्वास्थ्यसमाचार/ संजीवनी टिचिङ हस्पिटल दाङमा जटिल न्यूरो सर्जरी (हाइड्रोसेफलस) सफलतापूर्वक सम्पन्न भएको छ। दङ्गीशरण गाउँपालिका–३ दाङ निवासी निर्मला थापाकी तीन वर्षीया छोरी सङ्गीता थापाको टाउकोमा जमेको अतिरिक्त तरल पदार्थ हटाउने शल्यक्रिया सफल भएको हो।
मस्तिष्कमा सेरेब्रोस्पाइनल फ्लुड (CSF) नामक तरल पदार्थ अत्यधिक मात्रामा जम्मा हुने अवस्थालाई हाइड्रोसेफलस भनिन्छ। यसले मस्तिष्कमा चाप बढाउँदा टाउको अस्वाभाविक रूपमा ठूलो हुने, बान्ता हुने, बेचैनी हुने तथा बालबालिकामा विकासमा असर पर्ने समस्या देखिन सक्छ।
संजीवनी टिचिङ हस्पिटलका वरिष्ठ न्यूरो सर्जन डा. मुसाफिर आलम नेतृत्वको टोलीले गरेको शल्यक्रियापछि बालिकाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ। अस्पताल आउँदा टाउको ठूलो भएको, निधार फुलेको, टाउको धान्न नसक्ने, बस्न नसक्ने तथा लगातार बान्ता हुने समस्या रहेकोमा शल्यक्रियापछि मस्तिष्कको चाप घटेको, बान्ता रोकिएको र बालिका सामान्य अवस्थामा फर्किएको जनाइएको छ।
बालिकाका अभिभावकले विगत दुई वर्षदेखि काठमाडौंमा उपचार गर्न चिकित्सकले सुझाव दिए पनि आर्थिक समस्याका कारण लैजान नसकेको बताएका छन्। दाङमै सहुलियत दरमा जटिल न्यूरो सर्जरी सेवा पाएपछि उनीहरूले अस्पतालप्रति धन्यवाद व्यक्त गरेका छन्।
संजीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपिका रोक्काले पश्चिम नेपालका बिरामीलाई जटिल न्यूरो उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले अस्पतालले विशेषज्ञ सेवा विस्तार गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, “न्यूरो सर्जरी जस्तो संवेदनशील सेवा दाङमै उपलब्ध गराउनु हाम्रो ठूलो उपलब्धि हो। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै पश्चिम नेपालका बिरामीलाई गुणस्तरीय र सहज उपचार सेवा दिने हाम्रो लक्ष्य हो।”
संजीवनी टिचिङ हस्पिटलले न्यूरो सर्जरी सेवासँगै आवश्यक पर्ने न्यूरो आईसीयू, आधुनिक मोडुलर अपरेशन थिएटर, ब्लड बैंक तथा अत्याधुनिक उपकरणसहितको सेवा सञ्चालन गरेको जनाएको छ।
डा. मुसाफिर आलमको आगमनसँगै अस्पतालले बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म न्यूरो ओपीडी तथा २४ घण्टा आपतकालीन न्यूरो सर्जरी सेवा उपलब्ध गराउँदै आएको छ। यसबाट साविक राप्ती क्षेत्र तथा लुम्बिनी प्रदेशका न्यूरोसम्बन्धी बिरामीले दाङमै विशेषज्ञ उपचार पाउने भएका छन्।


प्रतिकया दिनुहोस्